काठमाण्डौ । अन्तिम दिनमा आएर एनएमबी बैंकको एफपीओ सबै कित्ता बिक्री हुने संकेत देखिएको छ । एनएमबी बैंकले निश्कासन गरेको प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँ दरको एफपीओमा असार २८ गते(आज) सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन हो । 

यो दिन एफपीओमा एकाएक अचाक्ली आवेदन परेको देखिएको हो । 

दिउँसोसम्ममा एफपीओमा ६८ हजार ४ सय आवेदकबाट ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । 

यो बैंकले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन गरेको हो । यो हिसाबले अब ४६ करोड बराबरको एफपीओ बिक्री हुन मात्र बाँकी रहेको छ । आज साँझसम्म बाँकी एफपीओ समेत बिक्री हुने अवस्था देखिएको बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ । 

एनएमबी बैंकले गत जेठ ३० गतेदेखि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गरेको थियो । पहिलो चार दिन सर्वसाधारणका लागि मात्र निश्कासन गरिएको एफपीओ त्यसपछि भने सर्वसाधारणसँगै संस्थागत लगानीकर्ताका लागि खुल्ला गरिएको थियो । 

बैंकले बिहीबार(आवेदन दिन अन्तिम दिन) एक सूचना प्रकाशित गरी साँझसम्म पनि एफपीओ बिक्री नभए शुक्रबारदेखि बैंकका संस्थापक तथा संचालक र तिनका परिवारका लागि एफपीओको बिक्री खुल्ला गरिने बताएको थियो । तर, आज दिउँसोसम्म परेको आवेदनले संस्थापक र संचालक तथा तिनका परिवारले खरीद गर्ने अवसर नपाउने अवस्था देखिएको छ । 

बैंकले ३३३ रुपैयाँ एफपीओ निश्कासन गरेलगत्तै दोश्रो बजारमा यसको सेयर मूल्य लगातार घटेर एफपीओको नजिक आइपुगेको थियो । दोश्रो बजारमा भाउ घटेपछि लगानीकर्ताले लामो समयसम्म यो बैंकको एफपीओ खरीदमा खासै इच्छा व्यक्त गरेनन् । तर, असार २६ गते बैंक संचालक समितिको बैठकले सेयरधनी र एफपीओ पर्नेले समेत पाउने गरी १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो । बैंकको बोनस सेयरले एफपीओमा आवेदन दिनेको संख्या एकाएक बढेको देखिएको हो ।