काठमाण्डौ । एनएमबी बैंकको कन्सोर्टियम लिडमा ६ वाणिज्य बैंकले ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा ५.२५ अर्ब लगानी गर्ने भएका छन् । 

सिउरी न्यादी पावर कम्पनी लिमीटेडले लमजुङको न्यादी नदीमा निर्माण गर्न लागेको यो आयोजनामा एनएमबी बैंकको अगुवाईमा सेञ्चुरी कमर्सियल बैंक, प्रभू, मेगा, एनसीसी र कुमारी बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

लगानी सम्बन्धी सम्झौता बुधबार होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भयो ।  

यी ६ वटै वाणिज्य बैंकले ७ अर्ब लगानीमा निर्माण हुने आयोजनामा ७५ प्रतिशतले हुन आउने कुल ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् ।

सम्झौतामा कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईं र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

आयोजनाको गत जेठ १९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । सबै लगानी जुटेपछि निर्माण सुरु गरिने कम्पनीका अध्यक्ष गुरागाईंले बताए । उनकाअनुसार अहिले आयोजनास्थलमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । 

यो आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध तथा विद्युतगृह लमजुङको बाँहुनडाँडा गाविसमा निर्माण हुनेछ ।

विद्युतगृहमा २२ मेगावाटका २ टर्बाइन जडान हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट विद्युत उत्पादन हुनेछ । 

आयोजनामा १ अर्ब ७५ करोड स्वपुँजी लगानी हुनेछ, यसमा संस्थापकदेखि लमजुङका स्थानीयले समेत लगानी गर्नेछन् । आयोजनाको मुख्य प्रवद्र्धक ङादी ग्रुप पावर कम्पनी लिमिटेड रहेको छ ।