काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा संस्थागत लगानीकर्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको पहिलो दिन अत्यन्त न्यून आवेदन परेको छ । 

बिक्री प्रबन्धकको काम गरिरहेको नागरिक लगानीकोषका अनुसार संस्थागत लगानीकर्ताका लागि समेत खुल्ला गरिएको एफपीओमा सोमबार अपरान्हसम्म चारवटा मात्र आवेदन परेको हो ।  

संस्थागत लगानीकर्ताको रुपमा म्युचुअल फण्ड, बिमा कम्पनीहरु, विभिन्न इन्भेष्टमेन्ट कम्पनी लगायतले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक लगानीकोषका अनुसार संस्थापक र सर्वसाधारण गरी करिब ५४ हजार आवेदकबाट १ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । हालसम्म ५६ लाख १५ हजार ६ सय कित्ता एफपीओ खरीदका लागि मात्र आवेदन परेको बताइएको छ । 

संस्थागत लगानीकर्ताहरुले सेयर खरीद गर्न पाउने अधिकतम सीमा कम भएको भन्दै त्यसलाई बढाउने व्यवस्था गर्न समेत माग गरेका बिक्री प्रबन्धकले जनाएको छ । इच्छुकले न्युनतम १० कित्ता र अधिकतम ५७०७० कित्तासम्म आवेदन दिन पाउने बताइएको छ ।

बैंकले ३ अर्ब ८० करोड रुपैयाँको एफपीओ निश्कासन गरेको हो । एफपीओमा आइतबारसम्म सर्वसाधारणले मात्र आवेदन दिन पाएका थिए भने सोमबारदेखि संस्थागत लगानीकर्ताका लागि समेत खुल्ला गरिएको हो । 

बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गरेको हो ।
एफपीओका लागि ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।  

यो बैंकले २०७४ बैशाख २० गते नै एफपीओ निश्कासनका लागि आवेदन दिएको थियो । तर, एफपीओ मूल्यमा अण्डरराइट गर्नेसँग कुरा नमिल्दा तथा राष्ट्रबैंकको नीतिगत व्यवस्थाका कारण समेत लामो समय रोकिएको थियो । 

एफपीओबाट बैंकको चुक्तापूँजीमा १ अर्ब १४ करोड थप हुनेछ भने प्रिमियम बापत संकलन हुने २ अर्ब ६६ करोड जगेडाकोषमा जम्मा हुनेछ ।  

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ करोड ६० लाखको उचाईमा पुुग्नेछ । यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९.९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०.०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ ।

यो बैंकको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइपीओ ग्रेड ३ को रेटिङ दिएको छ । यसले बैंकको अवस्था औसत रहेको भन्ने जनाउँछ र यस्तो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन । 

यो बैंकको २०७३ पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाले एफपीओबाट पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो । त्यही निर्णयको जगमा टेक्दै एफपीओ निश्कासनको प्रक्रिया बैंकले सुरु गरेको हो ।