काठमाण्डौ । अधिकतम कित्ताको सीमा बढाएर ५० लाख पुर्याएसँगै एनएमबी बैंकको एफपीओमा आवेदन पर्ने क्रम केही बढेको छ ।

संस्थागत लगानीकर्ताहरुको माग अनुसार अधिकतम कित्ताको सीमा बढाएर ५० लाख पुर्याइएसँगै बुधबार केही बढेर बैंकको एफपीओमा २ अर्ब २० करोड बढीको आवेदन परेको छ । यो समाचार तयार पार्दासम्म ५६ हजार ५ सय भन्दा केही बढीले आवेदन दिएका छन् ।

एनएमबी बैंकले गत जेठ ३० गतेदेखि ३ अर्ब ८० करोडको एफपीओ निश्कासन गरेको थियो । असार ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताले मात्र खरीदका लागि आवेदन दिएका थिए भने सोमबारदेखि भने संस्थागत लगानीकर्ताले समेत आवेदन दिन सुरु गरेका थिए । 

तर, धितोपत्रको सार्वजनिक निश्कासन निर्देशिकाको साबिकमा रहेको कुल कित्ताको ०.५ प्रतिशतलाई मात्र अधिकतम सीमा मानेर सोहीअनुसार मात्र आवेदन दिन पाइने भन्ने व्यवस्थाले संस्थागत लगानीकर्ताबाट अपेक्षा गरेअनुसार आवेदन दिएका थिए । 

धितोपत्र बोर्डले एकपछि अर्को एफपीओ बिक्री नभएपछि सम्बन्धित कम्पनी तथा मर्चेन्ट बैंकहरुको समेत सल्लाहमा निर्देशिकामा संसोधन गर्दै ०.५ प्रतिशतको अधिकतम सीमा सम्बन्धी व्यवस्था हटाइदिएको थियो । यही व्यवस्थामा टेकेर अधिकतम सीमा ५० लाख कायम गरिएसँगै संस्थागत लगानीकर्ताहरु एनएमबीको एफपीओ खरीदका लागि अगाडि बढेका हुन् ।