काठमाण्डौ । नेपाल टेलिकमबाट १३.०२ प्रतिशत ब्याजमा निक्षेप उठाएको नवील बैंकलाई समेत उछिन्दै एनएमबी बैंकले बिहीबार नेपाल दूरसंचार प्राधिकरणबाट १३.०५ प्रतिशतमा निक्षेप उठाएको छ । 

लगानीयोग्य रकमको अभाव भइरहेको बेला ठूला बैंकबीच रेट बढाएर निक्षेप उठाउने होड चलेको हो । 

एनएमबी बैंकले नवीललाई समेत उछिन्दै १३.०५ प्रतिशत ब्याज दिएर दूरसंचार प्राधिकरणको ८० करोड निक्षेप उठाएपछि यसले बैंकहरुबीच हल्लीखल्ली मच्चिएको छ । 

एनसेलले पैसा फिर्ता गर्न तागेता गरेपछि धेरै अत्तालिएको नवील बैंकले दूरसंचार प्राधिकरणमा समेत टेलिकमलाई दिएको १३.०२ प्रतिशत ब्याज अफर गरेको थियो । उसले ७० करोडका लागि सो ब्याज अफर गरेको थियो । तर, उसलाई समेत उछिन्दै एनएमबीले ८० करोड निक्षेप हात पारेको हो । 

प्राधिकरणबाट हालसम्मकै सर्वाधिक ब्याजदरमा निक्षेप उठाएको स्वीकार गर्दै एनएमबी बैंकका एक अधिकारीले नवीलले १३.०२ प्रतिशतमा उठाइदिएपछि आफूहरुले बाध्य भई १३.०५ प्रतिशत दिनुपरेको बताए । ‘हामी यसबाहेक संस्थागत निक्षेप यति धेरै महंगो दरमा अब उठाउदैनौ।’ उनले भने–‘हामीलाई अरु बैंकजस्तो तरलता समस्या पनि छैन, हामी सुविधाजनक अवस्थामै छौ ।’ 

बैंकहरुबीच मुद्धती निक्षेपमा ब्याज बढाउने अहिले होडबाजी नै चलेको छ । संस्थागत निक्षेपको दर सर्वाधिक १३.०५ प्रतिशतको उचाईमा पुुगेसँगै व्यक्तिगत निक्षेपमा समेत बैंकहरुले घोषित रुपमा साढे १२ प्रतिशतसम्म ब्याज अफर गर्न थालिसकेका छन् ।