काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आफू कमजोर रहेको क्षेत्रका राम्रा वित्तीय संस्थाहरुलाई प्राप्ति गर्ने प्रयासलाई लकडाउनको अवधिमा पनि जारी राखेको छ । 

केही समयअघि आफू कमजोर रहेको पश्चिमाञ्चल क्षेत्रमा बलियो बन्ने उद्देश्यले त्यहाँको निकै सशक्त बैंक, ओम डेभलपमेन्ट बैंक लिमीटेडलाई एनएमबीले अक्वायर(प्राप्ति) गरेको थियो । सोही बेला बैंकका संचालक तथा उच्च व्यवस्थापनका अधिकारीहरुले आफू कमजोर रहेको अन्य क्षेत्रका बलिया संस्थाहरुलाई समेत अक्वायर गर्दै जाने नीति लिइएको प्रष्ट पारेका थिए । 

यही नीतिअनुसार बैंकले कमजोर उपस्थिति रहेको सुदुरपश्चिम क्षेत्रमा बलियो बन्ने उद्देश्यले त्यहाँको कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडलाई प्राप्तिको सम्झौता गरेको छ ।

कञ्चनलाई एनएमबीले १००ः८५ को सेयर स्वाप कायम हुने गरी प्राप्तिको सम्झौता गरेको हो । हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९८ करोड रहेको छ ।  

कञ्चन डेभलपमेन्ट बैंकको मुख्यालय हाल कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ । यसको कार्यक्षेत्र सुदुरपश्चिमका ५ जिल्ला(कैलाली, कञ्चनपुर, बैतडी, डोटी र डडेलधुरा) मा फैलिएको छ । बैंकको १७ वटा शाखा र ३ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । कञ्चनमा १८१ कर्मचारी रहेका छन् । 

एनएमबी बैंकले ५ जिल्लामा राम्रो प्रभाव रहेको यो बैंकलाई प्राप्ति गरी आफूलाई सुदुरपश्चिममा समेत सशक्त बनाउने रणनीति लिएको देखिन्छ । 

एनएमबी बैंक र कञ्चन डेभलपेमन्ट बैंकका बीच गाभ्ने गाभिने विषयमा जेठ २५ गते सम्झौता भएको एनएमबी बैंकका कम्पनी सचिव ध्रवप्रसाद अधिकारीले जानकारी दिए । 

एनएमबीले प्राप्तिको सम्झौता गरेको कञ्चन डेभलपमेन्ट बैंकको लाभांश इतिहास सन्तोषजनक रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको यो बैंकको त्यसअघिका वर्षहरुको औसत लाभांश दर २० प्रतिशतको हाराहारीमा थियो ।