काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

एकीकृत कारोबार एनएमबी बैंककै नाममा सुरु हुनेछ । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति प्राप्त गरेको थियो । त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबी बैंकले ओमको सम्पत्ति तथा दायित्व सकार्ने/व्यहोर्ने गरी एकीकृत कारोबार थाल्न अनुमति पाएको थियो ।

एनएमबीले ओमलाई १००ः७६ अनुपात स्वाप रेशियोमा गाभेको हो । जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ताबराबर एनएमबी बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जरपश्चात एनएमबी बैंकको कूल पूंजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ ।

बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्तिसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि करिब डेढ महिनाअघि दुवै बैंकले विशेष साधारणसभामार्फत मर्जर प्रक्रियालाई टुंगो लगाएका थिए।