काठमाण्डौ । एनएमबी बैंकले १ करोड १४ लाख कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । एनएमबी बैंकको आवेदन स्वीकार गर्दै बोर्डले अतिरिक्त निश्कासनका लागि आवेदन दिएका कम्पनीहरुको पाइपलाइनमा एनएमबी बैंकको एफपीओ पनि राखेको छ । 

एनएमबी बैंकले प्रिमियम मूल्य समेत जोडी कुल १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गर्न खोजेको हो । बोर्डको पाइपलाइनमा यो प्रस्ताव समेटिए पनि एफपीओको मूल्य पनि तोकिएको छैन । 

नागरिक लगानी कोष एनएमबी बैंकको एफपीओ निश्कासनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

यो बैंकको २०७३ पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाले एफपीओबाट पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो । त्यही निर्णयको जगमा टेक्दै एफपीओ निश्कासनको प्रक्रिया बैंकले सुरु गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ करोड ६० लाखको उचाईमा पुुग्नेछ । यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९.९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०.०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको छ । नेपाल राष्ट्रबैंकको समयसीमाभित्र चुक्तापूँजी ८ अर्ब पुर्याउनका लागि एफपीओपछि यो बैंकले बोनस वितरणको बाटो रोज्नुुपर्नेछ ।