काठमाण्डौ । हरेक नागरिकको आफ्नै बैंक खाताको सरकारी अवधारणालाई सहयोग पुर्याई गाउँ-गाउँमा बित्तीय चेतना फैलाउने उद्देश्यले एनएमबी बैंकले मंगलबार ‘एक घर एक खाता’ अभियान लञ्च गरेको छ । 

दरबारमार्गस्थित होटल अन्नपूर्णमा एक पत्रकार सम्मेलनमार्फत निकै महत्वकांक्षी ‘एक घर एक खाता’  अभियानको औपचारिक लञ्च गरिएको हो । 

सो अवसरमा अभियानका प्रवद्र्धन दूत महानायक राजेश हमाल र बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले प्रिन्ट क्याम्पेनको संयुक्त अनावरण गरेका थिए भने हमालले टीभीसी लञ्च गरेका थिए । 

कार्यक्रममा ‘एक घर एक खाता’  अभियानको बिषयमा जानकारी दिंदै बैंकको रिटेल बैकिंग हेड सुष्मा शर्माले बित्तीय साक्षरता, घरमै बैकिंग सुविधा, नागरिकहरुमा बचतको बानीको विकास, रकमको पूर्ण  सुरक्षा लगायतका उद्देश्यले अभियान संचालन गरिएको जानकारी दिइन । 'सरकारले समेत बजेटमार्फत हरेक घरका नागरिकले बैंक खाता खोल्ने अभियान संचालन गर्ने घोषणा गरेको थियो ।' उनले भनिन्-'सरकारको यही योजनालाई साथ दिन हामीले वृहत रुपमा एक घर एक खाता अभियानलाई संचालन गर्ने भएका हौ ।' 

उनकाअनुसार यो अभियान अन्तर्गत ग्राहकले रुचाएको जुनसुकै खाता निकै सहज ढंगले खोल्न सक्ने व्यवस्था गरिनेछ भने बैंकका सेल्स फोर्सहरुले घर-घरमै पुगेर 'अन दि स्पट' खाता खोल्ने व्यवस्था गरिएको छ । खाता खोल्ने ग्राहकलाई एक स्ट्याण्डर्ड पासबुक दिइने र त्यहाँ बैंकिग प्रणाली तथा बिमाको बिषयमा चेतनामूलक सामाग्री समेत समेटिइने उनले जानकारी दिइन । उनले भनिन्-'बेलैमा बचत गर्ने बानीको विकास गर्न सके आर्थिक रुपमा सबैको भविष्य सुरक्षित हुन्छ । किनभने बचत गरे भविष्य सुरक्षित  छ ।' 

बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र  पौड्यालले चालु आर्थिक वर्षको बजेट बनाउनुअघि सरकारी अधिकारीहरुले आफूहरुसमक्ष हरेक घरमा बैंक खाता खोल्ने अभियानको बिषयमा छलफल गरेका जानकारी दिए । 'मैले त्यही बेला सरकारले यो नीति ल्याओस् हामी बैंकहरु पछाडि छौ भनेको थिएँ ।' नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका पौड्यालले भने-'त्यही अभियानलाई सहयोग गर्न तथा बित्तीय साक्षरता जगाउने हाम्रो  समेत जिम्मेवारी भएकोले यो अभियान थालेका हौ ।' 

उनले गाउँ-गाउँमा खाता खोल्ने अभियान बाहेक एनएमबी बैंकले आफ्ना शाखा आसपासका स्कूल तथा कलेजहरुमा बित्तीय साक्षरता सम्बन्धी कक्षाहरु लिने अभियानलाई समेत वृहत बनाएको जानकारी दिए । 'हामी ‘एक घर एक खाता’ अभियान काठमाण्डौ बाहिरबाट सुरु गर्छौ ।' उनले थपे-'हाम्रा शाखा रहेका स्थानका दुर्गम र ग्रामीण क्षेत्रहरुको पहिलो प्राथमिकतामा पर्नेछन् ।' 

डेपुटी सीइओ सुनिल केसीले नेपाल भित्रिरहेको रेमिटान्सको ९० प्रतिशत हिस्सा उपभोग्य सामानको खरीदमै खर्च भइरहेकोले ग्रामीण क्षेत्रका बासिन्दालाई बचतको बानी बसाल्न र उनीहरुको पैसाको सदुपयोगका लागि समेत एक घर एक खाता अभियान महत्वपूर्ण हुने दाबी गरे । ‘एक घर एक खाता’  हाम्रो एक अभियान हो, प्रोडक्ट होइन ।' उनले थपे-'समयानुकुल विभिन्न खातामा दिइने ब्याज यो अभियानमा खुल्ने खाताहरुमा समेत उपलब्ध गराइन्छ ।' खाता खोल्ने अभियानसँगै रेमिटान्स, बिमा लगायतका सुविधाहरु समेत खातावाललाई प्रदान गरिने उनले जानकारी दिए । 

बैंकले पत्रका सम्मेलनमा बताए अनुसार विभिन्न क्षेत्रमा महानायक राजेश हमालको साथमा 'रोड शो' गरिने र सो क्रममा बित्तीय साक्षरता जगाई खाता खोल्नका लागि ट्याब्लोइड बैकिंगको सुविधासहित बैंकको प्रतिनिधिहरु घर घरमा पठाइनेछ । 'अन द स्पट ट्याब्लोइडबाट फोटो खिच्ने र फारम भर्ने काम गरिन्छ ।' बैंकका अधिकारीहरुले भनेका छन्-'खाता खोलेको बिषयको जानकारी सम्बन्धित खातावाललाई एसएमएसबाट पठाइनेछ ।' खाता खोल्नुबाहेकका अन्य बैकिंग कारोबारका लागि भने ग्राहकले बैंकको नजिकको शाखामै धाउनुपर्ने पनि प्रष्ट पारिएको छ । 

कार्यक्रममा बोल्दै 'एक घर एक खाता' अभियानका प्रवद्र्धन दूत महानायक राजेश हमालले बैकिंग प्रणालीमा सबैको सहज पहुँच पुर्याउने उद्देश्यले थालिएको एनएमबी बैंकको अभियानमा आफ्नो समेत सहमति भएकोले सहकार्यका लागि तयार भएको जानकार दिए । 'बैंकमा खाता खोल्न गाह्रो छ भन्ने गलत मनोविज्ञानलाई समेत यो अभियानले चिर्ने विश्वास लिएको छु ।' उनले थपे-'बैंक नै घरदैलोमा पुगेपछि सबैका लागि बैकिंग सिस्टमको नारा वास्तविकतामा परिणत हुनेछ ।' 

सन् १९९६ बाट फाइनान्सको रुपमा उदाएको एनएमबी बैंक सन् २००८ बाट क वर्गको बैंकको रुपमा अगाडि आएको थियो । २०१० मा सहायक कम्पनी एनएमबी क्यापिटल स्थापना गरेको यो बैंकले सन् २०१५ मा ४ वटा बैंक तथा बित्तीय संस्थालाई ऐतिहासिक रुपमा सफल मर्जर गरेको थियो । सन् २०१४ मा मलेशियामा अफसोर कार्यालय स्थापना गरेको यो बैंकमा हाल ३ लाख ५० हजार ग्राहक प्रत्यक्ष जोडिएका छन् । ५४ एटीएम काउण्टर, ७१ शाखा, ७ एक्सटेन्सन काउण्टरबाट बैकिंग सेवा प्रवाह गरिरहेको बैंकले हालसम्म एनएमबी क्यापिटल र एनएमबी माइक्रो फाइनान्सको रुपमा दुई सहायक कम्पनी संचालन गरिसकेको छ । 

यो बैंकले आगामी वर्ष अभियानलाई अझ तीव्रता दिनका लागि गाउँ तथा ग्रामीण क्षेत्रमा शाखा स्थापनाको क्रमलाई समेत प्राथमिकतामा राखेको सीइओ पौड्यालले जानकारी दिए ।