काठमाण्डौ । धितोपत्रको सार्वजनिक निश्कासन निर्देशिका संसोधन गरेलगत्तै एनएमबी बैंकले निश्कासनमा रहेको एफपीओको अधिकतम कित्ताको सीमा बढाएको छ । 

बैंकले एक सूचना प्रकाशित गर्दै थप सार्वजनिक निश्कासन(एफपीओ)मा सेयर खरीद गर्नसक्ने अधिकतम सीमा बढाएर ५० लाख कित्ता कायम गरेको हो । 

एनएमबी बैंकले जेठ ३० गतेदेखि प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँमा निश्कासन गरेको एफपीओमा सर्वसाधारण लगानीकर्ताहरुबाट असार ४ गतेसम्म पूरै आवेदन नपरेपछि संस्थागत लगानीकर्ताहरुलाई समेत खरीदको बाटो खोलिएको थियो । तर, उनीहरुले सार्वजनिक निश्कासन निर्देशिकामा भएको व्यवस्था अनुसार अधिकतम सेयर खरीदको सीमा कम भएको भन्दै त्यसमा पुनर्विचार गरिनुपर्ने आग्रह गरेका थिए । 

प्रिमियममा निश्कासन भएका सेयर नबिक्ने क्रम बढेको भन्दै बोर्डले एकवर्षअघिको आफ्नै निर्णयलाई काट्दै अधिकतम सीमा कुल निश्कासित सेयर कित्ताको ०.५ प्रतिशत हुनुपर्ने व्यवस्थालाई हटाइदिएको थियो । यस्तै, सर्वसाधारण लगानीकर्तासँगै संस्थागत लगानीकर्ताले समेत निश्कासनको प्रारम्भदेखि नै सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिदिएको थियो । 

संसोधित व्यवस्था सोमबारदेखि नै लागू भएको बोर्डले जनाएपछि बुधबार बैंकले सोही व्यवस्थामा टेक्दै अधिकतम सेयर आवेदनको सीमा बढाइएको सूचित गरेको हो । यसअघिको व्यवस्था अनुसार अधिकतम सीमा ५७ हजार ७० कित्ता मात्र थियो । 

बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गरिरहेको छ । 

एनएमबी बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड रुपैयाँ बराबरको एफपीओमा मंगलबार साँझसम्म २ अर्ब ५ करोड बढीको आवेदन परिसकेको छ । ५६ हजार बढी आवेदकले सेयर खरीदका लागि आवेदन दिएका छन् ।