काठमाण्डौ । साढे १५ सयको हाराहारीमा दोश्रो बजारमा कारोबार भइरहेको एनएमबी माइक्रोफाइनान्सले १५० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको छ । 

माइक्रोफाइनान्सको असार २६ गते बसेको ७४ औं बोर्ड बैठकले मौद्रिक नीतिमा हुनसक्ने संभावित पूँजी वृद्धिको व्यवस्थालाई समेत मध्यनजर गरी १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव गरेको हो । 

हकप्रदका लागि कम्पनीले विशेष साधारणसभा बोलाउने निर्णय समेत गरेको छ । विशेष साधारणसभाको मिति भने तोकिएको छैन । 

एकातिर मौद्रिक नीतिमार्फत माइक्रोफाइनान्स कम्पनीहरुको पूँजीमा ५ गुणासम्म वृद्धि गर्ने नीति आउनेसक्ने खबर आइरहेको बेला एनएमबीले डेढसय प्रतिशत हकप्रदको प्रस्ताव गरेपछि बजारमा यो कम्पनीको सेयर किन्न लगानीकर्ताको दौडादोड चलेको छ । यहीकारण कारोबार सुरु भएको एकघण्टा नबित्दै बुधबार एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेकर लगाइएको छ । 

हल एनएमबी माइक्रोफाइनान्सको चुक्तापूँजी १४ करोड ८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद जारीपछि पूँजी बढेर ३५ करोड २० लाख माथि पुग्नेछ ।