काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आज सकिँदैछ । आज कार्यालय समयभित्रसम्म पनि एफपीओ सबै बिक्री नभए भोलि(असार २९)देखि बैंकका संस्थापक, संचालक तथा तिनका परिवारका सदस्यका लागि निश्कासन खुल्ला गरिनेछ । 

बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै असार २९ देखि ३२ गतेसम्म बैंकका संस्थापक, संचालक तथा तिनका परिवारले एफपीओ खरीदका लागि आवेदन दिन पाइने प्रष्ट्याएको हो । 

एनएमबी बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड मूल्यको एफपीओमा बुधबारसम्म २ अर्ब ७६ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको छ । देशभरबाट ६६ हजार ३ सय आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका छन् । 

बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँमा निश्कासन भएको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्तामाध्ये ८८ लाख ८८ हजार कित्ता खरीदका लागि आवेदन परिसकेको छ । 

यो बैंकको एफपीओ जेठ ३० गतेदेखि निश्कासन भएको थियो । पहिलो चार दिन सर्वसाधारणका लागि मात्र बिक्री खुलाइएकोमा सबैका लागि आवेदन नपरेपछि संस्थागत लगानीकर्ताका लागि समेत खुल्ला गरिएको थियो । 

एनएमबी बैंकको संचालक समितिले असार २६ गते मात्रै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस सेयर एफपीओ भर्नेले समेत पाउने भएकोले पनि अन्तिम अवस्थामा बैंकको एफपीओमा ह्वात्तै आकर्षण बढेको छ । प्रतिकित्ता ३३३ रुपैयाँको एफपीओमा लगानी गर्न चाहनेलाई तत्काल कुनै घाटा देखिन्न । मौद्रिक नीति पनि बजारमैत्री नै आएकोले दोश्रो बजारमा भोलिका दिनमा वाणिज्य बैंकहरुको मूल्य बढ्ने भएकोले एनएमबी बैंकको एफपीओ खरीद गर्नुमै लगानीकर्ताको हित देखिन्छ ।