काठमाण्डौ । एनएमबी बैंकको लाभांश क्षमतामा सामान्य वृद्धि भएको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.११ प्रतिशतले मात्र बढी हो । 

एनएमबी बैंकले समीक्षा अवधिमा खूद नाफातर्फ १८.८१ प्रतिशतको वृद्धि गरेको छ । अघिल्लो वर्ष ४६ करोड ३४ लाख रहेको यस्तो नाफा बढेर यो वर्ष ५५ करोडको उचाईमा पुगेको हो । 

यस्तै, ६२ करोड ३६ लाखमा सीमित संचालन मुनाफा बढेर ७८ करोड १७ लाखको उचाईमा पुगेको छ । 

यो बैंक पनि व्यवसाय बिस्तारमा निकै आक्रामक देखिएको छ । यहीकारण अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ६२ करोड ५० लाखमा सीमित खूद ब्याज आम्दनी बढेर ९७ करोड ६२ लाखको उचाई चुमेको छ । 

समीक्षा अवधिमा बैंकले ८५ अर्ब ८३ करोड निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । निक्षेपतर्फ १९.३० प्रतिशत र कर्जातर्फ ३०.३९ प्रतिशतको बढोत्तरी देखिएको हो । 

अघिल्लो वर्षसम्म ४ अर्ब ९३ करोडमा सीमित रिजर्ब कोषको आकार एफपीओ बिक्रीबाट प्राप्त प्रिमियम आम्दानीका कारण बढेर ८ अर्ब ७२ करोडमा पुगेको छ।

अघिल्लो वर्षको तुलनामा चुक्तापूँजीमा ३५ प्रतिशत भन्दा बढीको बढोत्तरी भएका कारण  प्रतिसेयर आम्दानीमा भने सामान्य गिरावट देखिएको छ । 

अघिल्लो वर्ष यही अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २९ रुपैयाँ १५ पैसा रहेकोमा त्यो घटेर २६ रुपैयाँ ८ पैसामा सीमित बन्न पुगेको हो । 
यो अवधिमा बैंकले १.६७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.७६ प्रतिशतमा झारेको छ भने प्रतिसेयर नेटवर्थ १९९.७५ रुपैयाँ कायम गरेको छ ।