काठमाण्डौ । जारी वार्ता र छलफलले सकारात्मक मोड लिए नेपालको बैंकिंग इतिहासमा ढिलोमा २ साताभित्र अर्को एउटा इतिहास रचिनेछ ।

आफैं चुक्तापूँजी पुर्याएर निकै राम्रो विजिनेश गरिरहेको एनएमबी बैंकले राष्टिय स्तरको विकास बैंकको रुपमा राम्रो पोजिसनमा रहेको गरिमा विकास बैंकलाई प्राप्तिको इतिहास रच्न लागेको हो । 

यसअघि प्राइम कमर्सियल बैंकले समेत चुक्तापूँजी पुगिसकेको ओम डेभलपमेन्ट बैंकलाई प्राप्तिको सम्झौता गरिसकेको छ । यी दुई बैंकबीचको मर्जरको प्रक्रिया निकै अगाडि बढिसकेको छ । यही क्रममा एनएमबी बैंकले समेत गरिमा विकास बैंकलाई प्राप्तिको छलफल अगाडि बढाएको बताइएको छ । 

एनएमबी बैंकस्थित एक उच्च अधिकारीले दिएको जानकारी अनुसार गरिमालाई प्राप्ति गर्ने उद्देश्यले दुई बैंकका उच्च अधिकारीबीच ३ पटक छलफल र वार्ता भइसकेको छ । ‘छलफल सकारात्मक ढंगले अगाडि बढेको छ ।’ ती अधिकारीले भने–‘सकारात्मक छलफल यसैगरी अगाडि बढेर ढिलोमा २ हप्ताभित्र निश्कर्ष आउनेछ ।’ 

ती अधिकारीका अनुसार गरिमालाई प्राप्ति नै गर्ने गरी सहमति भइसकेको छैन । अहिले छलफल चाहि निकै घनिभूत भएको उनको भनाई छ । 

गरिमालाई नै एनएमबी बैंकले प्राप्तिको प्रयास किन गर्यो त ? एनएमबी बैंकका ती अधिकारीले कारण खुलाउँदै बिजशालासँग भने–‘हाम्रो बैंकको प्रदेश नम्बर ४ मा राम्रो उपस्थिति छैन । त्यो क्षेत्रमा गरिमा बैंकको फूटप्रिन्ट निकै राम्रो भएकोले हामीले उसँग प्राप्तिको छलफल अगाडि बढाएका हौ ।’ 

तर, एनएमबी बैंकले यो बीचमा गरिमासँगै अन्य केही विकास बैंकहरुसँग पनि प्राप्तिको छलफल अगाडि बढाएको ती अधिकारीले जानकारी दिए ।