काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनएमबी बैंकले खूद नाफा अर्ब कटाएको छ । 

यो बैंकले १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा नाफा १५.२८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९६ करोड २७ लाख रुपैयाँ रहेको छ । 

खूद नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा चाहि घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब बढी फ्री प्रफिट आर्जन गरेको बैंकले यो वर्ष भने ९७ करोड ४८ लाख मात्र फ्री प्रफिट आर्जन गर्न सक्यो । यसरी हेर्दा बैंकको फ्री प्रफिट ३.२२ प्रतिशतले घटेको छ ।

बैंकले संचालन मुनाफातर्फ भने १८.८१ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष यही अवधिमा  १ अर्ब ३१ करोड रहेको यस्तो मुनाफा बढी १ अर्ब ५६ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा आक्रामक मुभ गरेका कारण खूद ब्याज आम्दानीतर्फ ४९.२३ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष १ अर्ब ३४ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ अर्ब माथि पुगेको हो । 

यो अवधिमा बैंकले ८८ अर्ब ७ करोड निक्षेप संकलन गरी ८५ अर्ब ३७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा डिपोजिट ९.३३ प्रतिशत र कर्जा २१.५८ प्रतिशतले बढाएको देखिएको छ ।

बैंकको रिजर्बकोषमा पनि ७१.०२ प्रतिशतको छलाङ देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५ अर्ब ४० करोड रहेको कोषको आकार बढी यो वर्ष ९ अर्ब २४ करोडको उचाई चुमेको छ । 

बैंकले १.२ प्रतिशतमा रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.७६ प्रतिशतमा सीमित गरेको छ ।

वितरणयोग्य मुनाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्षको यही अवधिमा २९.८० रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर यो वर्ष २५.३९ प्रतिशतमा सीमित हुन पुगेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ भने १२ प्रतिशतले बढी २०५.७१ रुपैयाँ पुगेको छ ।