काठमाण्डौ । धितोपत्र बोर्डले 'एनएमबी ५० फण्ड' नामको म्युचुअल फण्डलाई इकाई निश्कासनको अनुमति दिएको छ । 

एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो स्किमलाई १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई निश्कासनको अनुमति दिइएको हो । 

योसँगै फण्डले निकट भविष्यमै १० रुपैयाँ दरका १२ करोड इकाई बिक्रीका लागि सार्वजनिक निश्कासन गर्नेछ । यो फण्ड बन्दमुखी योजना हो ।  
यो फण्डको प्रायोजन एनएमबी बैंकले गरेको छ भने प्रवद्र्धन एनएमबी क्यापिटलले गरेको छ । 

एनएमबी क्यापिटलबाट प्रवद्र्धित एनएमबी हाइब्रीड फण्ड एल वान र एनएमबी सुभल इन्भेष्टमेन्ट फण्ड वान हाल बजारमा छन् । नयाँसहित एनएमबीका ३ वटा स्किम बजारमा हुनेछन् ।

दोश्रो बजारमा एनएमबी हाइब्रीड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको न्याभ क्रमशः ११.०९ र १२.०८ रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षको बोर्डले नवील ब्यालेन्स फण्ड २, सिटिजन्स म्युचुअल फण्ड २ ले बन्दमुखी स्किमको रुपमा निश्कासन स्वीकृति पाइसकेका छन् । नवीलको इकाई बिक्री भइसकेको छ भने सिटिजन्सको बिक्रीको चरणमा छ । 

बोर्डले चालु आबमै देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डको रुपमा एनआइबिएल सहभागिता फण्डलाई समेत इकाई निश्कासनको अनुमति दिएको छ । 

यी बाहेक अन्य ४ वटा म्युचुअल फण्ड धितोपत्र बोर्डको स्वीकृतिको प्रतिक्षामा छन् ।