काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ८५ करोड रुपैयाँमा थियो । बैंकले खुद नाफा २४.६४ प्रतिशतले बढाउन सफल भएको छ ।

अघिल्लो वर्ष २ अर्ब ५६ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ अर्ब ९० करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ४ अर्ब २६ करोड पुगेको छ ।

अघिल्लो वर्ष २ अर्ब ३३ करोड रुपैयाँ रहेको रिटेन अर्निङ भने यो वर्ष घटेर १ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा ४२.०७ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार ३ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार २ अर्ब ४८ करोड रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २१.८६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष सामान्य बढेर २४.०९ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात ०.८२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ७.२६ प्रतिशत र आधार दर ९.८६ प्रतिशत रहेको छ ।