काठमाण्डौ । मर्जरको करिब ६ महिनापछि एनएमबी बैंकको सेयर कारोबार आज बिहीबारबाट खुल्दैछ ।

ओम डेभलपमेन्ट बैंकसँग जेठ २ गते मर्जरको सम्झौता गरेपछि एनएमबी बैंकको कारोबार रोक्का गरिएको थियो । मर्जरमा केही ढिलाई हुँदा लामो समयसम्म लगानीकर्ताले एनएमबी बैंकको सेयरमा गरेको लगानी बन्धक बनेको थियो ।

लामो समयको प्रतिक्षालाई समाप्त गर्दै नेप्सेले एनएमबी बैंकको सेयर कारोबार बिहीबारदेखि खुल्ने सूचना प्रकाशन गरेको हो ।

एनएमबी बैंकलाई नेप्सेले पहिलो कारोबारका लागि ३५१ रुपैयाँको ओपन रेञ्ज तोकिदिएको छ । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्ने सम्झौता हुनुअघि बैंकको दोश्रो बजारको अन्तिम बिक्री मूल्य रु.३८२ रहेको थियो ।

ओपन रेञ्जसँगै नेप्सेले एनएमबी बैंकको १ करोड ९१ लाख १५ हजार ७९०.५६ कित्ता सेयर समेत सूचिकृत गरेको छ । यो सेयर ओम बैंक मर्जरमा आएपछि तय भएको सेयर स्वापको आधारमा थपिएको हो ।