काठमाण्डौ । एनएमबी बैंक शाखा सुर्खेतले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १०० थान कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ ।
 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत सामाजिक विकासमन्त्री दल रावललाई बैंकका शाखा प्रबन्धक मित्रराज प्याकुरेलले १०० थान गुणस्तरयुक्त पिपिई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्री ग्रहण गर्दै मुख्यमन्त्री शाहीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई ध्यानमा राखेर प्रदेश सरकारमार्फत यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सहयोग गरेको भन्दै सो बैैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
 
सामाजिक विकासमन्त्री रावलले कर्णालीको स्वास्थ्य क्षेत्रका जनशक्तिलाई व्यक्ति सुरक्षा सामग्रीले काम गर्न उत्साह मिल्ने बताउनुभयो । बैंकका शाखा प्रबन्धक मित्रराज प्याकुरेलले सामाजिक उत्तरदायित्व वहन गर्दै ‘कोभिड–१९’ बाट बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पुगोस् भन्ने ध्येयले सामग्री सहयोग गरिएको बताउनुभयो । उहाँका अनुसार एनएमबी बैंक केन्द्रले यसअघि नै नेपाल सरकारलाई रु एक करोड ५१ लाख र प्रदेशअन्तर्गतका शाखा बैंकबाट पनि सातवटै प्रदेश सरकारलाई सहयोग गरिसकेको छ ।