काठमाण्डौ । लकडाउनको अवधि पुनः बढेपछि एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने प्रक्रिया केही समयका लागि स्थगित भएको छ । 

कम्पनीले एक सूचना प्रकाशित गरी असहज परिस्थितिका कारण भन्दै हकप्रदमा आवेदन दिन साबिकको समयमा केही दिन थप गरी चैत २७ गते बैंकिंग समयसम्म बढाए पनि सरकारले पुनः लकडाउन बढाउने निर्णय गरेसँगै अवस्था सहज नभएसम्मका लागि प्रक्रिया नै स्थगन गरिएको बताएको हो । 

लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको निश्कासन तथा बिक्री प्रबन्धकत्वमा निश्कासन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडको २०७६ माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा कारोबार भई कायम साबिक सेयरधनीहरुका लागि १० सेयर बराबर ६ नयाँ सेयर(१०ः६) को अनुपातमा प्रतिसेयर रु. १०० अंकित दरको ३८ लाख ४२ हजार ४३७.५० त्तिा हकप्रद सेयरका लागि २०७६ फागुन २२ गतेदेखि निश्कासन गरेको थियो ।

हकप्रदमा चैत १२ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । तर चैत १० गते अहिलेको विषम परिस्थितिलाई लिएर नेपाल सरकारबाट आएको आह्वान समेतलाई मध्यनजर राखी तथा कम्पनीको प्रकाशित विवरणको दफा ‘र’मा भएको व्यवस्था अनुसार हकप्रद निश्कासनका लागि दरखास्त दिने म्याद चैत २७ गते बैंकिंग समयसम्म थप गरिएको थियो । 

तर, सरकारले ११ गतेदखि नोवल कोरोना भाइरसको संभावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा रोक लगाउने थप अवधिको घोषणा गरेपछि लगानीकर्ताको हितलाई मध्यनजर गरी परिस्थिति सहज भएपश्चात आवश्यकता हेरी नियामन निकायको स्वीकृतिलाई हकप्रदमा आवेदन लिने प्रक्रिया पुनः खुलाइने कम्पनीले प्रष्ट्याएको छ ।