काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको २७९ औँ बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। तर बीमा समितिको निर्देशनबमोजिम नेपाल वित्तीय विवरण प्रतिवेदनमान प्रणाली (एनएफआरएस) बमोजिम वित्तीय विवरण तयार गर्दा नियमनकारी प्रावधानअनुसार उक्त रकमबाट जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएकोले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांशको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ । 

बीमा समितिबाट जारी निर्जीवन बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशनबमोजिम तयार गरिएको प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा रु २४ करोड ७८ लाख २२ हजार ५०२ देखिएको छ। 

यस्तै एनएफआरएस प्रणालीबमोजिम तयार पारिएको वित्तीय विवरणअनुसार खुद नाफा रु २४ करोड ७६ लाख ७ हजार ९९४ देखिएको इन्स्योरेन्सले जनाएको छ। ती वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

कम्पनीको गत जेठ १४ गते सम्पन्न विशेष साधारणले भने बीमा समितिको निर्देशनबमोजिम न्यूनतम चुक्तापुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । जसअनुसार कम्पनीले हाल कायम ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गरेर एक अर्ब २ करोड रुपैयाँ पुर्याउने छ।