काठमाण्डौ । नेपाल टेलिकमको कुल सेवा बापतको आयमा संकुचन आएको छ । 
 
आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको कुल सेवा बापत टेलिकमले ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँ आम्दानी गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ रहेको थियो । 
 
आयमा गिरावट आएसँगै टेलिकमको नाफा तथा प्रतिसेयर आम्दानी पनि घटेको छ । 
 
अघिल्लो वर्ष यही अवधिमा ९ अर्ब ७५ करोड रहेको खूद नाफा घटेर यो वर्ष ८ करोड ५५ करोडमा सीमित बन्न पुगेको हो । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा टेलिकमको नाफा ९९ करोड ४० लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५५ करोड रहेको थियो । यसरी एउटै त्रैमासमा टेलिकमको नाफा विविध कारणले ह्वात्तै घटेको देखिन्छ । 
 
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ६५.०५ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष ५७.०६ रुपैयाँ कायम भएको हो । 
 
समीक्षा अवधिमा कम्पनीको पीई रेसियो ११.४८ गुणा, प्रतिसेयर नेटवर्थ ६२०.९२ रुपैयाँ कायम भएको छ । 
 
कम्पनीले समीक्षा अवधिमा रिचार्ज कार्ड डिस्काउण्टमा मात्रै ८५ करोड ३३ लाख र्च गर्नुपरेको देखिएको छ । 
 
आय घट्ने अन्य कारण के के हुन् ? टेलिकमका अनुसार आय घट्ने कारण यस्ता छन्:
  • कम्पनीका सेवाहरु लज्डि लाइन, एफटिटिए र जिएसएम डेटाबाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको, तुलनात्मक रुपमा लिज्ड लाइन र एफटिटिएच सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजश्वले अन्य सेवाबाट हुने राजश्वको कमीलाई परिपूर्ति गर्न नसक्ने। मुलुक भित्र लगायत विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा अघिल्लो बर्षको चौथो त्रैमासिक सम्मको तुलनामा चालु आ।व।को सोहि त्रैमासिक सम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजश्व रु। दुई अर्व २९ करोड २८ लाखले न्यून हुन गएको ।
  • कम्पनीले रिचार्ज कार्डको विक्रीमा मिति २०७५/१२/१ देखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको। कूल विक्रीलाई हिसाब गरिसके पछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड विक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको । गत आ.व. को तुलनामा चालु आ।व। मा उक्त डिस्काउन्ट रकम रु. ७९ करोड ३१ लाख ९१ हजार ले वृद्धि भएको। गत आ।व।को चौथो त्रैमासिक सम्मको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजश्वमा ३.९ प्रतिशतले कमी हुने । 
  • फोरजी सेवाको विस्तारको कारणले आव २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येवाट राजश्व वृद्धि उन्मुख रहेकोमा मुलुक भित्र लगायत विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट, ओटीटीको बढ्दो प्रयोग जस्ता कारणहरुले गर्दा जिएसएम तथा पीएसटिएन भ्वाइस सेवामा करिब रु २ अर्व १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिव रु ५४ करोडको कमी भएको तथा डेटा सेवातर्फ करिब रु ७५ करोड वृद्धि भएको। यी कारणहरुले गर्दा गत आ।व।को चौथो त्रैमासिक अवधिको तुलनामा यस आ.व.को चौथो त्रैमासिक अवधिमा राजश्वमा  करिव १५ प्रतिशत (रु एक अर्ब ९५ करोड)ले गिरावट आएको।
  • कोभिड १९ महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउन चालु आ.व.को चौथो त्रैमासिकमा पनि निरन्तर रहेको हुनाले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको । सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असरका अलावा महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकवर्गलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले टपअप मा शतप्रतिशत बोनस वापत रु. ५३ करोड ४० लाखभन्दा बढि, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिई रु. २२ करोड ८३ लाखभन्दा बढि तथा जीरो भ्यालू कलबापत रु. ५  करोड ३० लाख भन्दा बढिको निःशुल्क सेवा दिएको हुनाले राजश्वमा प्रत्यक्ष असर गरेको । 
  • कोभिड १९ महामारीसंग सम्बन्धित रहेर नेपाल सरकारका निकायहरुको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवा सुविधाहरु उपलव्ध गराएको। साथै, नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १० करोड योगदान गरेको।
  • उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, विजुली आदिको खर्चमा भएको वृद्धि, कर्मचारीको तलव वृद्धि, कर्मचारीलाई उपलव्ध गराइएको ऋण आदिको कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।