काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज (२०७५ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । 
 
साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
 
एघारौं साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ । 
 
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । 
 
सभाले आर्थिक वर्ष २०७४।७५ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ । 
 
यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७५/७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ । 
 
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको एघारौं वार्षिक प्रतिवेदन पेश गरको थिए । प्रतिबेदन पेश गर्दै उनले अगामी दिनमा समेत अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने प्रतिबद्धता ब्यक्त गरे ।
 
उनले विगत वर्षहरूमा जस्तै आर्थिक वर्ष २०७४/७५ मा पनि कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा वृद्धि गर्न सफल भएको बताउँदै २०७५ असार सम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको जानकारी दिए । 
 
साथै गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।
 
प्रविधिको तीव्र विकास भएसँगै विश्वब्यापी रुपमा भ्वाइस सेवाको ब्यापारमा शिथिलता आई भ्वाइसको ब्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुनेक्रम जारी रहेको बताए । 
 
साथै तीव्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा ब्यापक कटौतीका बावजुद सञ्चालन आय रु. ३९.०२ अर्व कायम गरी कुल आयमा १.५२ प्रतिशतल वृद्धि गर्न कम्पनी सफल भएको बताउनु भयो । त्यस्तै उहाँले समीक्षा वर्षमा नाफा १३.७३ प्रतिशतले वृद्धि गरी रु. १७.४८ अर्ब पुर्याउन कम्पनी सफल भएको समेत जानकारी दिए । 
 
उनले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा बिस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको फोरजी एलटीई उपकरणलाई फाइभजी स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए । 
 
ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा फाइबर टू दि होमको विस्तार लाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने समेत जानकारी दिए ।
 
बढ्दो विश्वव्यापीकरणसँगै दूरसञ्चार क्षेत्रमा भइरहेको प्रतिस्पर्धाको कारणले हाम्रा निर्णय प्रक्रिया, कार्यशैली, संस्थागत संरचनामा सुधार गरी कम्पनीलाई परिवर्तनमुखी, व्यावसायिक तथा गतिशील संगठनको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी कम्पनीको डिडिए गर्ने कार्य सम्पन्न भई परामर्शदाताबाट अन्तिम प्रतिवेदन प्राप्त भइसकेको जानकारी दिए ।