काठमाण्डौ । इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट)को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

नेपालको साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील यस संस्थाले पछिल्लो समय सुरक्षामा देखिएका जटिलता र समाधानका विषयमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

काठमाडौंको मध्यबानेश्वरस्थित डाइनिङ पार्क रेष्टुरेन्टमा शनिबार आयोजना भएको साधारणसभाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं सूचना प्रविधि महाशाखाका प्रमुख वीरेन्द्रकुमार मिश्रले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि मिश्रले सरकारले राष्ट्रिय सर्ट (सेक्युरिटी इमर्जेन्सी रेस्पोन्स टिम) निर्माणको अन्तिम तयारी गरिरहेको जानकारी दिए । उनले राष्ट्रिय सर्टका लागि कार्याविधि बनाउन लागेको र मस्यौदामा सरोकारवालाहरुसँग छलफल जारी राखेको बताए ।

‘सर्ट धेरै हुनु स्वभाविक हो । सेक्युरिटीका थुप्रै सबडोमेनहरु छन् । सबैले आ–आफ्नो स्तरमा काम गर्न आवश्यक छ । सरकारी, गैरसरकारी र निजीस्तरमा सर्ट स्थापना हुनु राम्रो कुरा हो । अब यी सर्टहरुबीच सहकार्यको भावना विकास हुनुपर्छ,’ मिश्रले भने ।

विशिष्ट अतिथि सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने योजना ल्याएको र साइबर सुरक्षाका लागि पनि निजी क्षेत्रसँग मिलेर जान आफूहरु तयार रहेको भनाइ राखे । 

सो अवसरमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको विकाससँगै जटिलता र जोखिम पनि आएको चर्चा गर्दै सर्टहरुले सामूहिक काम गर्नुपर्ने बेला आएको बताए । 

क्यान महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघको आइसिटी डेभलपमेन्ट कमिटिका प्रमुख ई। विनोद ढकालले पनि धेरै सर्टहरु सञ्चालनमा आए पनि यी संस्थाहरुबीच सहकार्य भएन भने अपेक्षित उपलब्धि हासिल गर्न नसकिने भनाइ राखे ।

एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले छोटो समयमै एनपीसर्ट साइबर सुरक्षाको साझा संस्थाको रुपमा स्थापित भएको चर्चा गर्दै आगामी दिनमा विभिन्न निकायसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने र काठमाडौंबाहिरका ठाउँहरुमा पनि साइबर सुरक्षासम्बन्धी कार्यक्रम सुरु गरिने जानकारी दिए ।

सो अवसरमा क्यान महासंघका केन्द्रीय उपाध्य नवराज कुँवर, कोषाध्यक्ष खुशल रेग्मी, सहकोषाध्यक्ष शेखर दुलाल, एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । 

यसैबीच, साधारणसभाको बन्दसत्रमा महासचिव ध्रुवराज शर्माले पेश गरेका आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिले पेश गरेको लेखा प्रतिवेदनमाथि सदस्यहरुले छलफल गरेका थिए ।

साथै साधारणसभाको बैठकले महेश्वरमान जोशी र शंकरप्रसाद शर्मालाई एनपीसर्टको कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । बैठकले १७ सदस्यीय समितिबाट १३ सदस्यी समिति बनाउने र सदस्यहरुको कार्यविभाजन समेत गर्ने निर्णय गर्यो ।

यसअन्तर्गत संस्थाको अध्यक्षमा चिरञ्जिवी अधिकारी, वरिष्ठ उपाध्यक्षमा डा। प्रमोद पराजुली, उपाध्यक्षमा कुमार पुडासैनी, महासचिवमा ध्रुवराज जोशी(सुदीप)ु, सचिवमा निरञ्जन खकुरेल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषध्यक्षमा निरञ्जन पटेल रहनुभएको छ । सदस्यहरुमा दिव्यतारा शाक्य, शिव बस्नेत, कुमार पौडेल, सुरेश भण्डारी, शंकरप्रसाद शर्मा र महेश्वरमान जोशी रहेका छन् । 

यसैबीच काठमाडौंबाहिर पनि एनपीसर्टका गतिविधि सञ्चालन गर्ने योजना ल्याइएअनूरुप प्रदेश ३ का लागि जयराम हुमागाईं र प्रदेश ५ का लागि भोजराज तिमिल्सिनालाई प्रदेश संयोजकको जिम्मेवारी साधारणसभाले दिएको छ ।