काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

पछिल्लो समय नेपाल राष्ट्रबैंकले ऋणपत्र निश्कासनलाई प्राथमिकतामा राख्न निर्देशन दिएसँगै वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै ऋणपत्र निश्कासनमा केन्द्रीत हुन थालेको हुन् । 

एनबी बैंकले रु. १००० अंकित दरका २० लाख कित्ता 'एनबीबी डिवेञ्चर-२०८५/८६' निश्कासन गर्न लागेको हो । 

यसका लागि बैंकले निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडलाई नियुक्त गरेको छ । 

ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगान र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रु. १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट(प्राइभेट प्लेसमेन्ट) र ४० प्रतिशत अर्थात रु. ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्रबोर्डको स्वीकृतिपश्चात् निष्काशन तथा बिक्री खुल्ला गरिने बताइएको छ । 

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएको बैंकले जनाएको छ ।