काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा नाफामा सामान्य मात्र प्रगति देखिएको हो । अघिल्लो वर्ष यो बैंकको खूद नाफा १ अर्ब १९ करोड थियो । 

बैंकले व्यवसाय वृद्धिमा सामान्य प्रगति गरेको छ, यही कारण खूद ब्याज आम्दानीतर्फ पनि सामान्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ४६ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ५२ करोडको उचाईमा पुुगेको छ । 

१ अर्ब ५१ करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर १ अर्ब ७७ करोडको उचाईमा पुुगेको छ।

बैंकको कर्मचारी खर्चमा ६ करोड भन्दा बढीले वृद्धि देखिएको छ । संचालन खर्च डरलाग्दो गरी बढेको छ । अघिल्लो वर्ष २८ करोडमा सीमित यस्तो खर्च बढेर ३८ करोड ७० लाख पुुगेको छ । 

यो अवधिमा बैंकले ४३ अर्ब ७१ करोड निक्षेप संकलन गरी ३७ अर्ब ४६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो बैंकले ३९ अर्ब ८७ करोड निक्षेप संकलन गरी ३२ अर्ब ५२ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको रिजर्ब कोषमा चाहि निकै राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ अर्ब २ करोड रुपैयाँ रहेको कोष बढेर ३ अर्ब ४९ करोडको उचाईमा पुुगेको छ । बैंकको हाल चुक्तापूँजी ७ अर्ब २१ करोड रुपैयाँ रहेको छ । 

बैंकको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात वृद्धि भई ०.७६ प्रतिशत पुुगेको हो । ३.९५ प्रतिशत रहेको लागत खर्च ५.१० प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंको प्रति सेयर आम्दानी २८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४ गुणा कायम भएको छ । गत वर्षको चौथो त्रैमाससम्म यो बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ थियो । पूँजीवृद्धि तथा भारी परिमाणमा हकप्रद वितरण गरेपछि बैंकले प्रतिसेयर आम्दानीमा सन्तुलन कायम गर्न नसकेको देखिन्छ ।