काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकका कामु प्रमुख कार्यकारी अधिकृत(सीइओ) बन्दना पाठकले नेपाल राष्ट्रबैंकको अनुरोधमा सीआइबीले थालेको कारबाहीले बैंकको प्रगतिको बाधकको रुपमा रहेको समस्या समाधानउन्मुख भएको बताएकी छिन् । 

उनले एनसीसी बैंकमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक मर्ज हुनुुअघि भएको घोटाला प्रकरणकै कारण एनसीसी प्रगतिपथमा अगाडि बढ्न गाह्रो भइराखेको र यसकै कारण खराब कर्जा थुप्रिएर त्यसका लागि ठूलो रकम प्रोभिजनमा राख्नुपरेको उल्लेख गर्दै भनेकी छिन्–‘अब बैंकको प्रगति रफ्तार तीव्र हुनेछ ।’ 

कामु सीइओ पाठकले एपेक्स डेभलपमेन्ट बैंकमा भएको धोखाधडी र घोटाला प्रकरणले एनसीसी बैंकलाई कुनै असर नपर्ने जिकिर समेत गरिन् ।

‘हाम्रो बैंक थप सुरक्षित भएको छ, निक्षेपकर्ता र सेयरधनी आत्तिनुुपर्दैन ।’ उनले बिजशालासँग भनिन्–‘ठूलो रकम घोटाला प्रकरणका आरोपीहरुलाई सीआइबीले पक्राउ गरिसकेको छ । डूबेको रकम उनीहरुबाट असूल भएको खण्डमा बैंकको अवस्था सुधार भई आम्दानी तथा नाफा बढ्नेछ । नाफा बढ्यो भने लगानीकर्ताले राम्रो रिटर्न पाउनुहुनेछ।’ 

उनले एनसीसी बैंकसँग ४ वटा विकास बैंक मर्ज हुनुुअघि एपेक्समा भएको घटना भएकोले यसलाई हालको एनसीसी बैंकको बित्तीय सुुशासनसँग जोडेर हेर्न नमिल्ने प्रष्ट पारिन् । ‘यही प्रकरणले बैंक कुनै पनि जोखिममा छैन् ।’ उनले थपिन–‘अब हामी झनै सशक्त भएर अगाडि बढ्नेछौ, त्यसका लागि सहज वातावरण बन्नेछ ।’ 

सीआइबीको कारबाहीबाट बैंकका अन्य डिफल्टरहरु समेत लाइनमा आउने र डूबेको ऋण समेत उठेर बैंकमा थुप्रिएको खराब कर्जा घट्ने उनको अपेक्षा छ ।