काठमाण्डौ । भारतमा सेयर बादशाह उपनाम परिचित राकेश झुनझुनवाला इन्साइडर ट्रेडिङको घटनामा फसेका छन् । संयोग पनि कस्तो, ठीक यही बेला नेपालका सेयर बादशाह उपनामले चिनिएका निर्मल प्रधान समेत यस्तै विवादमा फसेका छन् । विवादको विषय हो प्रभू बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीचको संभावित मर्जरको कुरा । 

बजारमा चलखेल गर्नेहरुलाई प्रशस्त स्पेश दिने उद्देश्यले निर्मल प्रधानले एनसीसी बैंक र प्रभू बैंकबीच मर्जरको विषयमा कुराकानी धेरै अगाडि बढिसकेको भन्दै सार्वजनिक सञ्चारमाध्यममै बताइदिए । यो प्रकरणले दोश्रो बजारमा प्रभू र एनसीसी बैंकको सेयर मूल्यमा समेत तीव्र चलखेल भयो । प्रधानको कुरा यस अर्थमा पनि महत्वपूर्ण बन्यो कि उनी स्वयम् एनसीसी बैंकले बनाएको मर्जर कमिटीको सहसंयोजक थिए । मर्जर कमिटीको सहसंयोजकले नै प्रभू बैंकसँगको भित्री छलफल र निश्कर्षउन्मुख विषयमा मुख खोलेपछि यो विषयले बजारमै राम्रै स्पेश पायो । 

निर्मल प्रधानले यो खुलासा गरेसँगै उनीमाथि कारबाही हुनुपर्ने आवाज समेत उठ्यो । धितोपत्र बोर्डदेखि बैंक संचालक समितिसम्म पनि यो माग पुग्यो । चौतर्फी दवाब आएको थाहा पाएका चलाख प्रधानले अरुलाई कारबाही गर्ने मौका नै नदिई आफैंले मर्जर कमिटीको सहसंयोजक पदबाट राजीनामा दिएका खुलेको छ । 

आफूले गल्ती गरेँ भन्ने उहाँलाई अनुभूति भयो होला, आफैं रिजाइन गर्नुभयो । एनसीसी बैंकका एक संचालकले भने–‘उहाँले राजीनामा गर्नु भएको थिएन भने पनि संचालक समितिले एक्सन लिने तयारी भइसकेको थियो । सायद यही कुरा थाहा पाएर उहाँले हतार हतारमा राजीनमा दिनुभयो । 

ती संचालकले प्रभू बैंकसँग एनसीसी बैंकको मर्जरको छलफल निश्कर्ष नजिक रहेको अवस्थामा त्यस्तो गोप्य सूचना सार्वजनिक संचारमाध्यममा बोलेर प्रधानले गल्ती गरेका दाबी गरे । 'उहाँले जे गर्नुभयो, त्यो राम्रो भएन ।' ती संचालकले भने-'उहाँको सूचनाका कारण बजारमा खेल्नेहरुले मौका पाए । हामीलाई त उहाँले पनि राम्रैसँग खेल्नुभयो भन्ने शंका छ ।' 

तर, ती संचालकले उनले यो सूचनाको दुरुपयोग गर्दै बजारमा खेले या खेलेनन् भन्ने विषय हेर्ने काम आफूहरुको नभएको, यो विषयमा धितोपत्र बोर्डले चासो दिनुपर्ने प्रष्ट्याए । 

बैंकले प्रधानमाथि संवेदनशील सूचना निश्कर्ष निस्किनुअघि नै बाहिर ल्याएको विषयमा स्पष्टीकरण समेत सोध्ने तयारी गरेको थियो । तर, यी कामहरु हुन नपाई प्रधानले मर्जर कमिटीको जिम्मेवारी छाडेका छन् ।

प्रधानको विवादास्पद अभिव्यक्ति, उनले गरेको राजीनामा, अन्य संचालकहरुले गरेको दाबी र प्रभू बैंकका अधिकारीहरुले पनि कुनै वाणिज्य बैंकलाई अक्वायर गर्दैछौ भनी दिएको अभिव्यक्ति लगायतलाई विश्लेषण गर्दा यी दुई बैंकबीच मर्जरको छलफल निश्कर्षउन्मुख छ भन्ने बुझ्न गाह्रो पर्दैन । 

उच्च स्रोतका अनुसार यी दुई बैंकबीच हाल मर्जरको छलफलले निश्कर्ष नपाउनुको मुख्य कारण नै सेयर स्वाप रेसियो भएको छ । बाँकी कुरा सबै मिल्ने अवस्था भए पनि एनसीसीले १ बराबर १ को अनुपात मागेको छ भने प्रभूले भने समान हैसियतमा एनसीसीलाई अक्वायर गर्न नसक्ने अडान लिइरहेको छ । मध्यमार्गी बाटो खोज्ने काम भइरहेको र यसमा सहमति बने केही दिनभित्रै यी दुई बैंकले मर्जरको प्रारम्भिक समझदारीमा हस्ताक्षर गर्ने स्रोत दाबी गर्छ । 

त्यसो त यो बीचमा प्रभू बैंकले सांग्रीला डेभलपमेन्ट बैंकलाई समेत अक्वायर गर्न खोजिरहेको छ । यो संभावना पनि उत्तिकै प्रवल रहेको स्रोतहरु बताउँछन् ।