काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले २१ प्रतिशतको हाराहारीमा बोनस सेयर वितरणको प्रस्ताव नेपाल राष्ट्रबैंकमा पठाएको छ ।

यो बैंकले साढे १४ प्रतिशतको हाराहारीमा बोनस सेयर जारी गर्ने खबर बाहिरिए पनि २१ प्रतिशतसम्म बोनस सेयर वितरण गर्न सकिने आधारसहित नेपाल राष्ट्रबैंकमा प्रस्ताव पठाएको हो । 

नेपाल राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार बैंकले गरेको बोनस सेयर वितरणको प्रस्तावको विषयमा एकदुई दिनमै निर्णय हुनेछ । 

बैंकले अपुग पुँजीका लागि वितरण गर्नैपर्ने साढे १४ प्रतिशत हाराहारी बाहेक पनि ६.५ प्रतिशतसम्म थपेर २१ प्रतिशतको हाराहारीमै बोनस वितरणको प्रस्ताव स्वीकृत हुनसक्ने संभावना रहेको स्रोत बताउँछ । 

यो बैंकले लामो समयसम्म राष्ट्रबैंकले तोकेको न्यूनतम चुक्तापुँजी ८ अर्ब पुर्याउन सकेको छैन । निकै ठूलो परिमाणमा हकप्रद निश्कासन गरी बैंकले चुक्तापुँजी ७ अर्ब १ करोड पुर्याएको छ । तोकिएको चुक्तापूँजी पुर्याउन यो बैंकका अगाडि बोनस सेयर वितरणको बाध्यता छ । 

अपुग पुँजीका लागि बैंकले साढे १४ प्रतिशतको हाराहारीमा बोनस सेयर वितरण गर्नैपर्छ । यो बाहेक पनि केही थपेर २१ प्रतिशतको हाराहारीमा बोनस सेयर वितरण गर्न खोजेको स्रोत बताउँछ । 

यो बैंकविरुद्ध विभिन्न पक्षले विभिन्न बाहानामा अदालतमा हालेका आधा दर्जन बढी मुद्धा खारेज भइसकेका छन् । मुद्धाको खारेजीसँगै बैंकले पूँजीवृद्धिको बाटो पक्रेको हो । पूँजीवृद्धिसँगै यो बैंकले आगामी आर्थिक वर्षबाट आक्रामक रणनीतिका साथ व्यवसाय विस्तार गर्ने योजना बनाएको छ । 
राम्रो बोनस पाइने लोभका कारण बैंकको सेयर मूल्य पहिलाको तुलनामा केही बढेको पनि छ । यो कम्पनीको दोश्रो बजारमा साढे २ सय बढीमै सेयर कारोबार भइरहेको छ ।