काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेडले आर्थिक वषृ २०७३/७४ मा १ अर्ब ३२ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको नाफा ७० करोड ७८ लाखमा सीमित थियो । नाफामा ८७ प्रतिशतको छलांग मारे पनि यो बैंकले नाफा भन्दा बढी रकम प्रोभिजनबाट फिर्ता ल्याएको देखिन्छ । 

संभावित जोखिम व्यवस्थापनका लागि प्रोभिजनमा राखेको १ अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यहीकारण नाफामा यति ठूलो प्रगति देखिएको हो । 

बैंकको संचालन नाफामा निकै ठूलो गिरावट आएको छ । अघिल्लो वर्ष यो अवधिमा ७४ करोड ७० लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा ४० करोड ६५ लाखमा सीमित बन्न पुुगेको हो।

चारवटा साना कम्पनीलाई गाभेको यो बैंकको कर्मचारी खर्च ३० करोड ९८ लाखबाट वृद्धि भई ४७ करोड ४३ लाख पुुगेको छ भने अन्य संचालन खर्चमा पनि डरलाग्दो गरी वृद्धि भएको छ । अघिल्लो वर्ष २३ करोड ४२ लाख रहेको अन्य संचालन खर्च वृद्धि भई यो वर्ष ४१ करोड ८१ लख पुुगेको हो । 
विदेशी मुद्रा कारोबारतर्फ समेत यो बैंकको प्रगति कमजोर बनेको छ । अघिल्लो वर्ष ५ करोड २४ लाख विदेशी मुद्राको कारोबारबाट आर्जन गरेको बैंकले समीक्षा अवधिमा ३ करोड ७० लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ७२ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १८ करोड थियो । चारवटा कम्पनीको व्यवसाय थपिँदा ब्याज आम्दानीतर्फको यो प्रगतिलाई औसत मात्र मान्न सकिन्छ ।

यो अवधिमा बैंकले ५८ अर्ब ७९ करोड निक्षेप संकलन गरी ४८ अर्ब १८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २४ अर्ब ८९ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले जगेडाकोषतर्फ भने राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षसम्म १ अर्ब ३१ करोड रहेको कोषको आकार बढेर समीक्षा अवधिमा २ अर्ब ५६ करोडको उचाई चुमेको छ । 

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ६७  करोड पुुगेको छ । 

बैंकमा समीक्षा अवधिमा खराब कर्जाको थुप्रो लागेको छ । अघिल्लो वर्ष ०.९१ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्ष ४.८० प्रतिशत पुुगेको हो । खराब संस्थाहरु गाभ्दाको परिणाम यो बैंकका लागि निकै महंगो पर्नसक्ने देखिन्छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.५१ गुुणा कायम भएको छ ।