काठमाण्डौ । खोला बग्ने बगर धितो राखेर करोडौं रुपैयाँ घोटाला गर्ने तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु धितालसहित १३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 

हाल धिताल मर्जरपछि बनेको एनसीसी बैंकको संचालक समिति सदस्य छन् ।

एपेक्स डेभलपमेन्ट बैंक मर्ज भई गाभिएको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको बोर्ड बैठक बसिरहेको बेला सीआइबीले बागबजारस्थित मुख्य कार्यालयमै छापा मारी धिताल लगायत १३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धिताल, दुुर्गाबहादुुर जोशी, डिठ्ठाबहादुर तामांग लगायतका रहेका छन् । 

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा नेपाल राष्ट्रबैंकको अनुरोधमा सीआईबीले अनुसन्धान थालेको हो । 

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष धितालको मिलेमतोमा झापा, काठमाण्डौ लगायतका क्षेत्रमा खोलाको बगर धितो राखी दुई अर्ब रुपैयाँको ऋण जारीको सेटिङ मिलाएका थिए । त्यसरी घोटाला गरिएको रकममध्ये ४८ करोड मात्र उठ्न सकेपछि राष्ट्रबैंकले अनुसन्धान गरी फाइल सीआइबीलाई जिम्मा लगाएको थियो ।