काठमाण्डौ । ठूला करदाता कार्यालयले एनसेल बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन नसक्ने जनाउँदै आवश्यक परे स्वीडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी गरेको छ ।

नेपाली संचारसँग खुलस्त कुरा नगरे पनि स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीले शुक्रबार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) मा ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले सो विषयमा जानकारी गराएका हुन् ।

‘एनसेलको कारोबारमा लाभकर लाग्छ । हामी अहिले अनुसंधानको चरणमा छौं । टेलियाले कर तिर्नुपर्छ।’ पौडेलले उक्त कार्यक्रममा भनेका छन्–‘टेलियाले कर नतिरेमा कर कार्यालयले उक्त विषय सरकारी स्तरमा उठाउने छ ।’ 

‘टेलियाले पहलकदमी नलिए मैले कर विभागलाई जानकारी गराउने छु, विभागले अर्थ मन्त्रालय हुँदै विदेश मन्त्रीलाई जानकारी गराउने छ, जसको स्विडेन सरकारसँग राम्रो सम्बन्ध छ । त्यसरी हामीले उसलाई पूँजीगत लाभकर तिर भन्न सक्छौं,’ पौडेलले अन्तर्वार्तामा अगाडि भनेका छन् ।

नेपाली कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक करोबारको रुपमा चर्चित एनसेलको स्वामित्व हन्तान्तरणमा बिक्रेता टेलियाले हालसम्म पनि कारोबारको कर विवरण बुझएको छैन । उसले होल्याण्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचा मार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले शेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ ।

सो टिभी कार्यक्रममा पनि यही अडान दोहोर्याएका छन् टेलियाका कार्यकारी प्रमुख योहान डेनेलिन्डले । नेपालसँग नर्वेको दोहोरो कर उन्मुक्ति सम्झौता उल्लेख गर्दै उनी भन्छन्–‘हामी कर तिर्छौ यदि कानूनी आधार छ भने मात्र । कानून आधारित नभएको कर तिर्नु कुनै विकल्प होइन र हामीमाथि करको दाबी भएको पनि छैन ।’  

नेपालमा संसदीय समितिदेखि कर विज्ञ समेतले एनसेलतर्फ करको दायत्वि स्थापित गर्न प्रयास गरिरहँदा कसैले पनि टेलियालाई उत्तरदायी बनाउन केही पहल नगरेको उक्त कार्यक्रमले खुलस्त पारेको छ । 

‘कारोबार सम्पन्न हुने बितिक्कै हामीलाई नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको थियो । हामीले तुरुन्तै उक्त कारोबारको विवरण दिन कानूनतः बाध्य नभएको जानकारी गरायौं । त्यस पछि हामीले कुनै पत्र पाएका छैनौं,’ डेनेलिन्ड भन्छन् ।

तर उक्त कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महर, पूर्व अर्थ सचिव रामेश्वर खनाल, विमल कोइराला, विद्याधर मल्लिक लगायतले एकै स्वरमा टेलियाले लाभकर तिर्नुपर्ने बताएका छन् ।

‘लाभकर लाग्छ, टेलिया यसबाट उम्कन सक्दैन,’ महराले भनेका छन् ।

‘सम्पत्ति नेपालमा छ र उक्त सम्पत्ति बेच्दा लाभ हुन्छ भने त्यसको लाभकर नेपालमै तिर्नु पर्छ । नेपालको आयकर ऐनले त्यही भन्छ । त्यसैले टेलियाले लाभकर तिर्नु पर्छ । राम्रो काम गरेको थियौं भनेर यसबाट उम्कन सकिंदैन । टेलियासोनेरा जस्तो कम्पनीबाट यस्तो भनाईं आउनु हुँदैन थियो । तर टेलियाले हाम्रो मन दुखाएको छ’ पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन् ।

‘हामीले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सहयोग लिएर आयकर ऐन बनाएका हौं । यो संसारकै कर कानूनहरुको तुलनामा आधुनिक छ । टेलियाले जस्तो सुकै संरचना मार्फत लगानी गरेको भए बेचेको त यहि भएको सम्पत्ति हो नि । त्यो सम्पत्ति यहिं कारोबार गरेर बढाएको हो नि । त्यसैले लाभकर तिर्नु पर्छ,’ अर्का पूर्व अर्थ सचिव विमल कोइरालाले भनेका छन् ।

‘नेपालमा कर तिर्नु पर्दैन भन्ने टेलियाको अडानबाट म अचम्मित छु,’ आयकर ऐन लेखनमा संलग्न तत्कालीन कर विभागका महानिर्देशक तथा पूर्व अर्थ सचिव विद्याधर मल्लिकले भनेका छन् । ‘टेलियाले यस्तो भन्नु हुदैनथ्यो । किनभने उसले नेपालमा रहेको सम्पत्ति कारोबार गरेको हो र संसारभर लाभकर लाग्ने अवस्थामा बिक्रीकर्ताले नै तिर्नु पर्ने व्यवस्था रहेको छ ।’
 
टेलियाकै देश स्विडेनबाट आएर त्यहाँको टेलिभिजनले बनाएको कार्यक्रममा प्रस्तोता भन्छन् नेपालको आयकर ऐनले स्पष्ट भन्छ विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहन्छ । कार्यक्रमले टेलियालाई जिम्मेवार हुन तथा उत्तरदायीत्व बहन गर्न पनि सुझाएको छ । 

साथै कार्यक्रमका निर्माताले यो पनि भनेका छन् –नेपालका अधिकारी, राजनीतिक तह तथा सभासद भने टेलियालाई कर तिराउनलाई प्रयास गर्नु भन्दा एनसेल तथा खरिदकर्ता आजियाटालाई दबाब दिइरहेका छन् । यसैअन्तर्गत एनसेलले करिब १० अर्ब रुपैयाँ अग्रिम कर तिरिसकेको छ । बाँकी कति तिर्नु पर्छ कसैले यकिन गर्न सकेको छैन किनभने टेलियाले कर विवरण बुझाएको छैन । बजारमा विभिन्न व्यक्तिले विभिन्न अंक सुझाए पनि कर कार्यालयले केही निक्र्यौल गरिसकेको छैन । 

‘टेलियाबाट केही प्राप्त भएको छैन । हामी अनुसन्धान गरिरहेका छौं,’ ठूला करदाता कार्यालय प्रमुख पौडेलले भनेका छन् । 

यता टेलिया भने कुनै दाबी नआएको भन्दै थप भन्छ उसले केही गल्ती गरेको छैन र उ नेपालमा कर तिर्न बाध्य पनि छैन । 

‘सहि सँधै सहि नै हुनुपर्छ । हामी कर तिर्छौ यदि कानूनी आधार छ भने । हामीले १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) नेपालमै छाडेका छौं र करिब १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) प्राप्त गरेका छौं, जोड घटाउ शुन्य छ । नेपालको कारोबारबाट हामीले लाभ प्राप्त गरेका छैनौं,’ टेलियाका प्रमुख कार्यकारी डेनेलिन्ड भन्छन् ।

स्विडिस टेलिभिजन एसभिटीले नेपालका कर अधिकृत, सरकारी अधिकारी, अर्थमन्त्री लगायतका साझेदार तथा टेलियासोनेरासँग कुरा गरेर तयार पारेको समाचार शुक्रबार बिहान प्रशारण गरेको हो । उक्त प्रशारण यस लिंकमा क्लिक गरी हेर्न सकिन्छ ।