काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूल योर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अलटाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डेटा प्याकको अफर सार्वजनिक गरेको छ ।

यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुँचका साथै  बोनस स्वरुप दैनिक एकघण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् । 

‘सही’ डेटा प्याक यही चैत्र २९ गते बिहीबारदेखि लागू हुनेछ । यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा जिबि देखि १५ जिबिसम्मको १ दिन देखि ३० दिन सम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अलटाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् । 

ग्राहकले १ दिन समयावधि रहेको आधा जिबिको सही डेटाप्याक करसहित मात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तीन दिन समयावधि रहेको १.५ जिबि डेटा करसहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जिबि डेटा करसहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा करसहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् । 

सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याकअवधिभर दैनिक एकघण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् । यो योजनाअन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब, युट्युब गो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल)मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् । 

‘सही’ डेटा प्याक एनसेलको टु जी, थ्रि जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ । 

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकताबमोजिमको सही डेटा प्याक लिई अफरको लाभ लिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् । उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।  

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो’ दर अनुसार कर सहित प्रति एमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिनदेखि ९० दिनका लागि मान्य रहनेछ ।