काठमाण्डौ । मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई नौं अर्ब ९६ करोड ९५ लाख रुपैयाँ कर आइतबार दाखिला गरेको छ । 

एनसेलले आइतबार अपरान्ह ठूला करदाताको कार्यालयमा उक्त रकम बुझाएको हो । उसले बाँकी रकम कर निर्धारण भएपछि सोही अनुसार बुझाउँदै जाने प्रतिबद्धता समेत जनाएको छ ।

स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा तथा  नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो ।  सन् २०१५ को अन्तमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए।  यो कारोबारमा एनसेलले आइतबारसम्म खरिदको आय विवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने दायित्व थियो ।

‘एनसेलले नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ बुझाएको छ।’ठूला करदाता कार्यालयका एक उच्च अधिकारीले भन–‘आफ्नो कारोबारको विवरण उपलब्ध गराएको छ । ती विवरण अध्ययनपछि कर निर्धारण हुन्छ । त्यहि आधारमा एनसेलले बाँकी रकम बुझाउँछु भनेको छ ।’

एनसेलले अरबौंको पूँजीगत लाभकर नबुझाएको भन्दै सर्वत्र आलोचना भएको थियो । देशव्यापी रुपमा स्वस्फूर्त रुपमा युवाहरुले एनसेल बहिस्कार अभियान संचालन गरी कर बुझाउन दवाब दिएका थिए । सर्वसाधारण युवाहरुको दवाब अभियानमा सांसदहरुले समेत उर्जा थपेर एनसेलले कर नबुझाएको बिषयलाई संसदमा प्रस्तावको रुपमा दर्ता गराएका थिए । सर्वसाधारणले सडकदेखि सांसदहरुले संसदसम्म दवाब दिएपछि सरकारी अधिकारी तातेर कि कर तिर्न, नभए दर्ता नै खारेज हुने चेतावनी दिएपछि एनसेलका हालका लगानीकर्ता कर तिर्न बाध्य भएका हुन् ।