काठमाण्डौ । निजी क्षेत्र अग्रणी दूरसंचार प्रदायक कम्पनी एनसेलले आइतबार सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ। 

आन्तरिक राजश्व विभाग अन्तरगतको ठूला करदाता कार्यालयमार्फत कम्पनीले सो कर रकम दाखिला गरेको हो । 

स्वीडेनको कम्पनी टेलियासोनेराबाट मलेसियन कम्पनी अजियाटाले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व नेपालमा भएको कम्पनी एनसेल अर्थात अजियाटाको रहने र बाँकी १० प्रतिशत दायित्व बिक्रेता अर्थात टेलियाको रहने हालको एनसेलको दाबी रहँदै आएको छ । सोही दाबी अनुसार एनसेलले आफ्नो दायीत्वमा आउने कर रकम दाखिला गरेको हो । 

एनसेलले यसअघि आफ्नो दायीत्वमा आउने कुल कर रकममध्ये ९ अर्ब ९६ करोड रुपैयाँ दाखिला गरिसकेको थियो । आइतबार १३ अर्ब ६० करोड रुपैयाँ बुझाएपछि अब एनसेल संचालन गर्ने अजियाटाले कुल २३ अर्ब ५६ करोड रुपैयाँ लाभकर बापत बुुझाइसकेको छ । अब खरीदकर्ताको हिसाबले एनसेलको हाल संचालक कम्पनी अजियाटाले तिर्न बाँकी कुनै पनि रकम नरहेको बताइएको छ । 

‘हामीले १५ प्रतिशतको हिसाबबाट हुन आउने कर रकम दाखिला गरिसकेका छौ ।’ एनसेलस्थित स्रोतले बिजशालासँग भन्यो–‘यो भन्दा बाँकीको दायीत्व अब बिक्रीकर्ताको हो । बिक्रीकर्ताबाट उठाउन नेपाल सरकारले पहल गर्नुपर्छ ।’