काठमाण्डौ । देशकै सबैभन्दा ठूलो करदाता र जिम्मेवार कर्पोरेट नागरिकको रुपमा रहेको एनसेल प्राईभेट लिमिटेड (“एनसेल” अथवा “कम्पनी”) ले आफ्नो भुतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस (“बिक्रीकर्ता”) द्धारा गरिएको अप्रत्यक्ष बिक्री (“कारोबार”) सँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यालयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर रु १३.६ अर्ब दाखिला गरी उक्त करको विषयलाई निश्कर्षमा पुर्याएको पुष्टि गरेको छ । 

एनसेलले हालसम्म गरेको कुल अग्रिम दाखिलाको आधारमा ठूला करदाता कार्यालयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणिकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्ण रुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ । 

एनसेल यस कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पुर्याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो रहेको बताइएको छ ।

“एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भनेका छन्–“हामी नेपाल सरकार तथा ठूला करदाता कार्यालयले यो विषयको निराकरण तथा टुंगोमा पुर्याउनका लागि प्रदान गरेका सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं । यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाध रुपमा लगाउन पाउनेछ, जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने छ ।” 

नेपालको दूरसञ्चार पूर्वाधार विकास तथा नेपाली नागरिकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि कम्पनीले आक्रामक रुपमा लगानी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

कम्पनी संचालनको १३ वर्ष (आर्थिक वर्ष २०६१/६२ देखि यही जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शीर्षकमा रु १६० अर्ब भन्दा बढी राजश्व योगदान पुर्याएको एनसेल देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्छ । एनसेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पुर्याउँछ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूजीगत लगानी रु २५ अर्ब ८० करोड भन्दा बढी रहेको छ । आफ्नो व्यवसाय संचालन मार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा करिब एक लाख १० हजार रोजगारी योगदान गरेको छ ।