काठमाण्डौ । एनसेलका ग्राहकमाझ निकै लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिनसक्ने भएका छन् । 

एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पूूरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको हो, जसअन्तर्गत अब ग्राहकले उही सेवाशुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितिमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् । 

सापटीको यो नयाँ योजना यही बुधबार(साउन १८) देखि लागू हुने कम्पनीले जनाएको छ । 

सापटी सेवाअन्र्तगतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवाशुल्क रु २ (कर बाहेक)मा यो सेवाबाट लाभ लिन सक्नेछन् । आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई  आवश्यक सञ्चार सेवा सुनिश्चितता गर्न एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ । 

‘‘सापटी ग्राहकहरुले एकदमै मन पराएको सेवाहरु मध्य एक हो । त्यसैले यो सेवा संचालनको पाँच वर्ष पूूरा भएको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि सापटी सुविधाअन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । यसले ग्राहकलाई थप मूूल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास छ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

दुई महिना वा सोभन्दा बढी समयदेखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी सेवा लिन सक्नेछन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् । 

प्रिपेड सेवाका ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सापटी लिन सक्नेछन् । त्यसैगरी, ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप लिइएको रु ४० र सेवा शुल्कबापतको रु २ (कर बाहेक) ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ४० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पूूर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले १७१०९ डायल गरी सापटी सेवाको बारेमा जानकारी लिन सक्ने कम्पनीले प्रष्ट पारेको छ ।  

डबल सापटी योजना ९० दिनका लागि मान्य  रहनेछ । प्रिपेड ग्राहकले आवश्यकताअनुसार आफ्नो मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जतिपटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनुपर्नेछ । ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन् ।