काठमाण्डौ । नेपाल टेलीकम र एनसेलले पर्याप्त इवान लाइन नदिंदा स्मार्ट टेलिकमका ग्राहकहरु मर्कामा परेका छन् । 

दुरसञ्चार प्राधिकरणको इन्टर कनेक्सन गाइडलाइन(निर्देशिका) अनुसार, टेलिकमहरुले सबै सेवाप्रदायक संस्थाहरुबीच सबैले सबैलाई इवान लाइन उपलब्ध गराउनुपर्छ । 

तर, नेपाल टेलिकमले भने यो प्रावधान पालना नगरेको आरोप लागेको छ । जसले गर्दा स्मार्टका ग्राहकले नेपाल टेलिकममा फोन गर्दा फोन लाग्दैन । फोन नलाग्ने तथा रुट व्यस्त भएको भन्ने जस्ता सन्देश मात्रै प्रवाह हुन्छन् । 

नेपाल टेलिकमले निर्देशिकाअनुसार, लाइन उपलब्ध नगराउँदा स्मार्टले आफ्नो आम्दानी समेत गुमाइरहेको छ । 

निर्देशिकामा छुट्याइएको इवानलाइमा ७० प्रतिशतभन्दा बढी कल प्रयोग भए(ट्राफिक) थप लाइन दिनुपर्ने प्रावधान छ । तर नेपाल टेलिकमले स्मार्टलाई मारमा पार्दै त्यसबारे दिइरहेका लाइन समेत बन्द गरिदिएको आरोप लागेको छ । नेपाल टेलिकमले यसअघि ३४ वटा इवान लाइन उपलब्ध गराइरहेकोमा हाल आधाभन्दा कम मात्रै छन् । 

स्मार्ट टेलिकमले अन्य नेटवर्कका लागि उपब्ध गराउने इवानलाइन भने खुल्लै राखेको छ । 

नेपाल टेलिकमले मात्रै होइन, एनसेलले पनि पर्याप्त इवान लाइन स्मार्टलाई दिएको छैन ।  जसले गर्दा स्मार्टबाट एनसेलमा समेत कल गर्न समस्या भइरहेको ग्राहकहरुको गुनासो बढेको छ । ७० प्रतिशत ट्राफिक भएपछि इवानलाइन थप गर्नुपर्ने कानुनी प्रावधानलाई दुवै सेवाप्रदायकले बेवास्ता गरेका छन् । हाल दुवै नेटवर्कमा ७० प्रतिशतभन्दा बढी ट्राफिक छ । यसले ग्राहक त मर्कामा परेका छन् नै स्मार्टको आम्दानीमा समेत उल्लेख्य नोक्सानी भएको कम्पनीले जनाएको छ । 

दुरसञ्चार प्राधिकरणले अघिल्लो साता गरेको अनुगमनका क्रममा समेत बिहान ९ बजेदेखि ११ र साँझ ५ देखि ७ बजेका बीचमा (पीओआइ युटिलाइजेसन) ७५ प्रतिशतभन्दा बढी ट्राफिक देखिएको थियो । प्राधिकरणले निर्देशिकाअनुसार बढी ट्राफिक भएपछि क्षमता थप्न निर्देशन दिंदै पत्र समेत पठाएको छ । एकसाताभित्र समस्या समाधान गरी जानकारी दिन निर्देशन गरे पनि नेपाल टेलिकम र एनसेलले निर्देशनको पालना गरेका छैनन् । 

इवानलाइन भन्नाले एउटा सेवा प्रदायकको नेटवर्कबाट अर्को सेवा प्रदायकको नेटवर्कमा एकैपटक गर्न सकिने कलको आकार(संख्या)हो । 

दुवै सेवाप्रदायकलाई निर्देशिकाअनुसार इवानलाइन उपलब्ध गराउने बारेमा नेपाल दूर सञ्चार प्राधिकरण समेत मौन देखिन्छ । उसले निर्देशन कार्यान्वयन भएनभएको अनुगमन समेत गरिरहेको छैन । 

यसबारे नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनकुमार अर्यालले नेपाल टेलिकम र एनसेललाई क्षमता बढाउन पत्राचार गरी एकसाताभित्र समस्या समाधान गर्न निर्देशन दिए पनि दुई ठूला सेवाप्रदायकले बेवास्ता गरेको बताए । उनले भने–‘बारम्बार निर्देशन दिएका छौं । ठूला सेवाप्रदायकले सानालाई नियन्त्रण गर्न खोज्छन् । यो हामीलाई सह्य हँुदैन ।’ उनले निर्देशिकाअनुसार क्षमता नबढाए कारवाही गर्ने चेतावनी समेत दिए ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले भने स्मार्टसेलले आफूहरुमाथि गलत आक्षेप लगाएको दाबी गरिन् । ‘हामीले ट्राफिक हेरेर सोहीअनुसार क्षमता बढाइरहेका छौ । हामीले कसैको विजिनेशमाथि नाकाबन्दी गर्ने भन्ने प्रश्नै उठ्दैन ।’ उनले भनिन्–‘उहाँहरुले भन्नेबित्तिकै इवान लाइनको क्षमता बढ्दैन, त्यसको पनि एउटा प्रक्रिया हुन्छ, प्रक्रिया पूरा भइञ्जेल उहाँहरुले कुर्नुपर्छ ।’ उनले दूरसंचार प्राधिकरणले समेत आफूहरुलाई इवान लाइन क्षमता बढाइदिने कुरामा सकेसम्म छिटो गर्नलाई झकझक्याउने गरेको उल्लेख गर्दै भनिन्–‘माग्नेबित्तिकै दिने भन्ने हुँदैन, त्यसको जस्टीफाई पनि हुनुपर्छ । जस्टीफाई भई हाम्रो व्यवस्थापनले स्वीकृति दिने अवधिसम्मका लागि त केही समय लाग्छ नै ।’