काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनका लागि सम्झौता गरेको छ । 

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो ।

यस पहलअन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र  सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानीय आपूर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ । 

धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुनेछ । हस्पिटलले कार्यक्रमलाई सफलतापूर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ । 

साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ । यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।  

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार (श्रावण २७) एक कार्यक्रममाझ टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न  सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस सहकार्यबाट उत्साहितधुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले भने, “हाम्रो भिजन भनेको नेपालमा नै यस्तो प्रकारको पहिलो हेल्थ इन्फर्मेटिक्स् सेन्टरको विकास गर्नु हो, जहाँ सिक्दै, नवीन खोज गर्दै तथ्याङ्कमा आधारित विधि अपनाई बहुआयामिक दृष्टिकोणबाट स्वास्थ्य क्षेत्रको विकास गर्न सकियोस् । नेपालको स्वास्थ्य क्षेत्रका बारेमा एनसेलको दूरदर्शी दृष्टिकोणप्रति म कृतज्ञ छु ।”

यस सहकार्य अन्तर्गत संचालन हुने कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “यो कार्यक्रम एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्वको फ्रेमवर्क र संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरु मध्येको एक भित्र पर्दछ । धुलिखेल हस्पिटलले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य केन्द्रहरुको क्षमतामा अभिवृद्धि गर्दै डिजिटल प्रविधिको प्रयोग मार्फत  विशेषतः ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेका जनसमुदायहरुलाई यस सहकार्यले ठूलो योगदान गर्ने हामीले आशा लिएका छौं ।”

यो कार्यक्रम टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थप्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल हस्पिटलद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा हस्पिटलका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई दुई वर्षका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।    

कार्यक्रम संचालनका लागि हाल सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु छानिएका छन् ।

यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायहरुलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम संचालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् ।

यस सहकार्यलाई पाँचवर्षको लागि निरन्तरता दिने योजना एनसेल र धुलिखेल हस्पिटल–काठमाडौ युनिभर्सिटी हस्पिटलको रहेको छ । यसका लागि दुई वर्ष पछि कार्यक्रमको मूल्याङ्कनपश्चात यो सम्झौतामा नविकरण हुनेछ । पाँचवर्ष पछि पनि दीर्घकालीन रुपमा संचालनमा रहने गरी यसको विकास गर्नु यस सहकार्यको उद्देश्य रहेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०११—२०१८ सम्ममा शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, युवा प्रतिभा प्रवद्र्घन जस्ता थुप्रै विभिन्न सामाजिक पहलहरुमा रु ६७ करोडभन्दा बढी योगदान पुर्याइसकेको छ । 

स्थापनादेखि गत आर्थिक वर्ष २०७५/७६ सम्म रु २ खर्ब १० अर्ब भन्दा बढि विभिन्न राजश्व शीर्षक अन्तर्गत योगदान गरिसकेको छ ।

एनसेलले प्रत्यक्ष तथा अप्रत्क्ष गरी ९३,८०० भन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ र १ करोड ६५ लाखभन्दा बढी ग्राहकहरुलाई दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ ।