काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशालीमध्येका दुई ग्राहकलाई बिहीबार (मंसिर १२) जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको छ ।

आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो योजना गत मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकमध्ये बिहीबार दुई ग्राहकले जनही रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकलाई आवश्यक प्रमाणीकरणको प्रक्रियापश्चात पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाण्डौबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।

पहिलो हप्ताका पाँच विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतीसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफूले पाएको नगद रु २ लाख पुरस्कार बिहीबार एक कार्यक्रममाझ ग्रहण गरेकी छिन् ।

त्यसैगरी एनसेल सेन्टर वीरगन्जबाट बाराका मनोजकुमार यादवले पनि रु २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् । “एनसेललाई धेरै–धेरै धन्यवाद । यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,” पुरस्कार ग्रहण गर्दै यादवले भने।