काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले एनसीसी बैंकसँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि मर्जरको फाइदा उठाउँदै १ अर्ब ५० करोड भन्दा बढी विभिन्न स्थानका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रहरी गरी अपचलन गरेको भन्दै तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धितालसहित १३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा एपेक्स बैंकका तत्कालीन संचालक समिति अध्यक्ष धिताल, अन्य २ संचालक, बैंकका तत्कालीन निमित्त सीइओ, शाखा प्रबन्धकहरु, कर्जा अधिकृत लगायतका अधिकारी छन् । 

प्रहरीले २०७२ मंसिर ११ गते एनसीसीसँग मर्जरमा जाने सहमतिको फाइदा उठाउँदै एपेक्स डेभलपमेन्ट बैंकले काठमाण्डौको दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरुबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ हानीनोक्सानी पुर्याएको अभियोग लगाएको छ । 

एनसीसी बैंकसहित काठमाण्डौका विभिन्न स्थानबाट शुक्रबार १३ जनालाई पक्राउ गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य अगाडि बढाइएको सीआइबीले प्रष्ट्याएको छ । 

सीआइबीले धितालसहितका १३ जनाविरुद्ध लगाएको मुख्य अभियोग यस्ता छन्:

  • कमशल धितो, भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
  • कृत्रिम ऋणीहरु खडा गरिएको ।
  • निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
  • ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
  • मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
  • धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
  • कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
  • कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
  • साँवा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
  • एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
  • सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
  • अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।