काठमाण्डौ । चीनमा आइफोनको माग ह्वात्तै घटेको र यसले कम्पनीको समग्र आम्दानीमै गिरावट आउने अनुमानका बीच एप्पल इंकको सेयरमूल्यमा निकै ठूलो झट्का लागेको छ । 

नेस्डेकमा सूचिकृत कम्पनीको सेयरको कारोबार करिब ९ प्रतिशतको गिरावटसँगै १४४ डलरमा खुलेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

यसको साथै कम्पनीको मार्केट भ्यालू केही मिनेटको अन्तरालमा झण्डै ८ लाख करोड रुपैयाँ अर्थात ७० अर्ब डलर घट्न पुगेको छ । यति मात्र होइन, कम्पनी मार्केट भ्यालूको हिसाबले माइक्रोसफ्ट तथा अमेजन भन्दा पछाडि धकेलिँदै विश्वको तेश्रो भ्यालूवाला कम्पनीमा सीमित हुन पुगेको छ । 

यसअघि चीनमा आइफोनको बिक्रीमा गिरावट आएको खबरले एप्पल कम्पनीका सेयरधनीहरुको चिन्ता बढाइदिएको थियो । बुधबार सेयरहोल्डरलाई पठाइएको पत्रमा एप्पलका सीइओ टिम कुकले भनेका छन् कि चीनमा आइफोनको माग घट्दो क्रममा छ र यसैका कारण अक्टोबर डिसेम्बरको त्रैमासमा कम्पनीको आम्दानीमा नराम्रो झट्का लाग्नेछ ।

कुकले आफ्नो पत्रमा भनेका छन् कि यो त्रैमासको दौरान एप्पलको आम्दानी ८४ अर्ब डलर सीमित हुने अनुमान छ । जुन फाइनान्सियल मार्केटको अनुमानबाट हेर्दा १० प्रतिशतले कम हो । 

सन् २००२  पछि पहिलोपटक एप्पलको विजिनेशमा देख्न थालिएको गिरावटबाट चीनको अर्थतन्त्रको बिषयमा चिन्ता बढाइदिएको छ । यो समस्यालाई चीन अमेरिकाबीच जारी व्यापार युद्धको असरको रुपमा समेत विश्लेषण गरिएको छ ।