काठमाण्डौ । आइफोन चलाउन मन लागिरहेको छ वा आइफोनको सौखिन हुनुहुन्छ भने तपाईका लागि खुशीको खबर । एप्पलले भारत र नेपालमा ठूला पर्वमा अफर दिंदै आइफोनको साबिकको मूल्यमा अहिलेसम्मकै सबैभन्दा धेरै छुटको घोषणा गरेको छ । नेपाल र भारतमा विशेष गरी तिहार उपहारको रुपमा यति धेरै छुट दिइएको प्रष्ट पारिएको छ । आइफोन सिक्स एस तथा आइफोन सिक्स एस प्लसको साबिकको मूल्यमा ३५ हजार रुपैयाँसम्मको छुट घोषणा गरिएको हो । 

एप्पलको आइफोन सिक्स एस(१२८ जीबी)को मूल्य पहिला १ लाख ३१ हजार रुपैयाँसम्म पथ्र्यो भने अब त्यसको मूल्य घटेर ९६ हजार भएको छ । यसैगरी आइफोन सिक्स एस प्लस(१२८ जीबी)को साबिकको मूल्य १ लाख ४७ हजार रुपैयाँसम्म पथ्र्यो भने अब एप्पलले सो फोनको मूल्य १ लाख १२ हजार रुपैयाँ राखेको छ । 

एप्पलले हालै आइफोन सेभेन र आइफोन सेभेन प्लसको लञ्च गर्दै यी मोडलहरु चाँडै बजारमा आउने घोषणा गरिसकेको छ । यी दुई मोडलको फोन बजारमा बिक्री सुरु हुने समय नजिकिँदै गर्दा पुराना मोडलहरुमा भारी छुटको घोषणा गरिएको हो । नयाँ आइफोनको बिक्री ७ अक्टोबरदेखि विश्वव्यापी रुपमा हुने एप्पलले जनाएको अन्तराष्टिय संचारमाध्यमहरुले लेखेका छन् । 

यही वर्ष लञ्च भएको एप्पलको ४ इञ्च डिस्प्लेवाला स्मार्टफोन आईफोन एसईको मूल्य पनि घटेको छ । यसको ६४ जीबी भर्सनको मूल्य ७८ हजार रुपैयाँबाट घटेर ७० हजार रुपैयाँ कायम गरिएको छ । 

एप्पलले आइफोन ६ एस र आइफोन ६ एस प्लस गत  वर्षको अक्टोबरमा लञ्च गरेको थियो । दुवै फोनमा थ्रीडी टच र २ जीबी र्यामको सुविधा रहेको छ । दुवैमा १२ मेगापिक्सेलको आइसाइट क्यामेरा रहेको छ भने ४ हजार भिडियो सुट गर्ने क्षमता रहेको छ ।

गत वर्ष एप्पलको आइफोन सिक्स एसलाई विश्वमै सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन भनिएको थियो । मार्केट रिसर्च कम्पनी स्टेटजी एनलिटिक्सले २०१५ सेप्टेम्बरको आफ्नो रिपोर्टमा भनेको थियो कि एप्पलको आइफोन सिक्स एस विश्वमा सबैभन्दा धेरै बिक्ने आइफोन हो ।