काठमाण्डौ । एप्पल कम्पनीको आइफोन सेभेन प्लस बोक्नुभएको छ ? यदि छ भने यो जुनसुकै बेला तातेर पड्किन र आगो लाग्न सक्छ । 

केही समयअघि सामसङको ग्यालेक्सी नोट सेभेनमा यस्तै समस्या भएर सो उत्पादन नै बन्द गर्दा कम्पनीलाई अरबौं घाटा लागेको थियो । 

सामसंगको उत्पादन बम जस्तै पड्किन थालेपछि नयाँ उत्पादन बन्द गरिएको थियो । यस्तै समस्या एप्पलको आइफोनमा समेत देखिन थालेको हो । 

विश्वको मोवाइल बजारमा सामसङ र एप्पल प्रमुख प्रतिस्पर्धी कम्पनी हुन् ।  

मिडिया रिपोर्टका अनुसार दक्षिणपश्चिम  चीनको युनान प्रान्तमा एक प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन प्लस आगो लागेर ध्वस्त भएको छ ।

वेबसाइटका अनुसार प्रयोगकर्ताको हातबाट आइफोन भुइँमा खसेपछि फोनमा कम्पन सुरु भयो र तीव्र रुपमा धुवाँ निस्कियो । अन्तिममा फोन पड्किएर त्यसको डिस्प्ले टुक्रिँदै छुट्टियो छ । तस्वीर हेर्दा आइफोन कामै नलाग्ने गरी ध्वस्त भएको छ । गत महिना मात्र प्रयोगकर्ताले सो आइफोन खरीद गरेका थिए ।

एजेन्सीहरुका अनुसार यो समाचारको बारेमा एप्पलले भने कुनै प्रतिक्रिया दिएको छैन र यदि यो घटना सत्य सावित भएमा सन् २०१६ मा आइफोनमा आगो लागेको यो चौथो घटना हुनेछ ।

गत अगष्ट महिनामा अस्ट्रेलियामा पनि एक प्रयोगकर्ता मोटरसाइकलबाट लडेसँगै उनको गोजीमा रहेको आइफोन पड्किएको थियो । एक प्रयोगकर्ताले भिडियो खिच्दै गर्दा आइफोनमा आगो लागेको घटना पनि सार्वजनिक भएको थियो । त्यस्तै गत महिना अस्ट्रेलियामै कपडामा बेरेर कारको पछाडिपट्टि समुद्री किनारामा राखिएको आइफोन तातोका कारण विस्फोट भएसँगै कार समेत आगो लागेर ध्वस्त भएको थियो ।
यस्ता घटना बढ्दै गए एप्पलको आइफोनको बिक्रीमा समेत मन्दी आउने र एप्पलको हाल समेत सामसङको जस्तै हुनसक्ने चेतावनी दिइएको छ ।