काठमाण्डौ । विख्यात ग्लोबल टेक्नोलोजी कम्पनी एप्पलले गत वर्षको अक्टुबरदेखि डिसेम्बरको त्रैमास अवधिमा अहिलेसम्मकै उत्कृष्ठ नतिजा हासिल गर्न सफल भएको छ ।

कम्पनीले यो अवधिमा ९१.८ अर्ब डलरको रेकर्डतोड कमाइ गरेको छ । जसमा २२ अर्ब डलर खुद नाफा रहेको छ । यो नाफा कम्पनीले कुनै पनि त्रैमासमा कमाएको अहिलेसम्मकै उच्च हो ।

कम्पनीका सीईओ टिम कुकका अनुसार आइफोन ११ र आइफोन ११ प्रोको अत्यधिक मागका कारण कम्पनीले अहिलेसम्मकै सबैभन्दा बढी त्रैमासिक आयआर्जन गर्न सफल भएको बताए । यसका साथै कम्पनीले सेवा तथा वेएरेवल्स क्षेत्रमा समेत उच्च कारोबार गरेको छ । पछिल्लो समय स्मार्टफोन मोबाइलमा प्रतिस्पर्धा बढेसँगै एप्पलको बिक्री घटिरहेको छ । जसका कारण कम्पनीले म्युजिक, स्ट्रिमिङ टेलिभिजन र अन्य डिजिटल कन्टेन्ट कारोबारमा आफ्नो ध्यान बढाएको छ ।

यस्तै कम्पनीको सेयरमा समेत २.८३ प्रतिशतको वृद्धि भएको छ । गत एक वर्षमा कम्पनीको सेयर दुई गुणाले बढाएको छ ।

त्रैमासको यो अवधिमा कम्पनीको स्मार्टफोनको कारोबार आम्दानीमा ८ प्रतिशतको वृद्धिसँगै कम्पनीले ५५.९ अर्ब डलर कमाएको छ । कम्पनीले आफ्नो स्मार्टफोनको बिक्री संख्या भने खुलाउने गरेको छैन । सेवा विस्तारसँगै कम्पनीको आम्दानी १७ प्रतिशत बढेर १.७ अर्ब डलर पुगेको छ। वेएरेवल्स र होम एक्सेसरिज क्याटोगेरीमा कम्पनीको आम्दानी ३७ प्रतिशत बढेर १० अर्ब डलर पुगेको छ ।

कम्पनीले जनवरीदेखि मार्चको त्रैमासको अवधिमा ६३ देखि ६७ अर्ब डलरको आम्दानी हुने अनुमान गरेको छ । – एजेन्सी