काठमाण्डौ । एप्पलले हालै रातो रंगको आइफोन सेभेन र आइफोन सेभेन प्लस बजारमा ल्याएको छ । चम्किलो चेरीजस्तो रातो रंगको यी आइफोनका सेटहरुमा प्रोडक्ट रेड(Product RED)को ब्राण्डिङ रहेको छ । के तपाईलाई थाहा छ यसको अर्थ ?

प्रोडक्ट रेड खासगरी रेड नामको सहायता कोषको नाम हो । रेड(RED)ले विश्वबाट एचआइभी एड्स निर्मूलका लागि अभियान चलाउँछ । प्रोडक्ट रेड ब्राण्डको माध्यमबाट उसले निजी क्षेत्रसँग सहकार्य गर्छ । कम्पनीहरुले प्रोडक्ट रेड ब्राण्डिङसँगै स्पेशल प्रोडक्ट्स लञ्च गर्छन र यस्ता उत्पादनको बिक्रीबाट हुने फाइदाको एक हिस्सा ग्लोबल फण्डलाई दिन्छन् । 

ग्लोबल फण्डको ठूलो हिस्सा रेडकै रहेको छ । हाल ग्लोबल फण्ड अफ्रिकाको साहारा मरुभूमि तथा आसपासको क्षेत्रमा एचआइभी एड्सको रोकथामको अभियानमा जुटिरहेको छ । स्मरण रहोस्, विश्वका ७० प्रतिशत भन्दा बढी एचआइभी एड्स पीडित मानिसहरु यही इलाकामा छन् । ग्लोबल फण्डले यो क्षेत्रमा मानिसमा जनचेतना फैलाउने, एचआइभी परीक्षण गर्ने तथा गर्भवती आमाबाट नवजात शिशुुमा एचआइभी सर्न नदिने बिषयमा केन्द्रीत भएर काम गरिरहेको छ । 

प्रोडक्ट रेड वाला यी विशेष आइफोन बिक्रीबाट हुने कमाई एप्पलले च्यारिटीको रुपमा दिने मिडिया रिपोर्टमा उल्लेख छ । तर यस्ता फोनको बिक्रीबाट हुने फाइदाको कति प्रतिशत ग्लोबल फण्डलाई एप्पलले दिन्छ भन्ने बिषय चाहि बताइएको छैन । 

स्रोतका अनुसार यी खास विशेषता भएको आइफोन अप्रील अन्तसम्ममा नेपाली बजारमा समेत आइपुुग्नेछ । यसको मूल्य नेपालमा १ लाख २० हजार भन्दा माथि नै हुनेछ ।