काठमाण्डौ । मंगलबार सेयर बजारमा एनएमबी बैंकले सबैभन्दा धेरै कारोबार गर्यो । यो बैंकले ३ करोड २ लाख बढीको कारोबार गरेको हो, तर बैंकको सेयर किन्ने भन्दा बिक्री गर्ने बढी देखिए । 

सोमबार एनएमबी बैंकले निकै ठूलो संख्यामा साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने प्रक्रियाले गति लिएको भन्दै मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ प्रस्ताव गरेको थियो । एकसय रुपैयाँ अंकित दरमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँ मूल्य प्रस्ताव गरिएपछि त्योभन्दा बढीमा कारोबार भइरहेको बैंकको मूल्य एकाएक घट्न पुगेको हो । 

सोमबार बजार बन्द हुँदा एनएमबी बैंकको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता ४४४ रुपैयाँ थियो । तर, मंगलबार एकैदिन २५ रुपैयाँ घटेर प्रतिकित्ता ४१९ रुपैयाँमा झरेको हो । यसरी एनएमबी बैंकका लगानीकर्ताले प्रतिकित्तामा एकैदिन ६ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाएका छन् । 

बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमै १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गर्ने भएपछि लगानीकर्ताले सेयर बिक्रीको रफ्तार बढाएका हुन् । यति धेरै संख्याको एफपीओ ३३३ रुपैयाँमै पाउने भएपछि ४ सय भन्दा माथि मूल्य हालेर बजारमा खरीद गर्ने कोही नभएकाले समेत यस्तो स्थिति आएको लगानीकर्ता बताउँछन् । 

दोश्रो बजारमा चलिरहेको मूल्य भन्दा कम मूल्यमा एफपीओ निश्कासनको प्रस्ताव गर्दा एनएमबीले मात्रै होइन, नेपाल बैंकका लगानीकर्ताले समेत पछिल्लो समय सम्पत्ति गुमाइरहेका छन् । 

यी २ घटनाले आगामी दिनमा एफपीओको प्रस्ताव पाइपलाइनमा रहेका कम्पनीहरुको सेयर दोश्रो बजारबाट किन्दा धेरै उचालिन नहुने सबक समेत सिकाएको लगानीकर्ता बताउँछन् ।