काठमाण्डौ । नेपाल बैंक लिमीटेडले प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले एफपीओ निश्कासन गर्न लागेको छ । प्रतिकित्ता ३३३ रुपैयाँको दरले निश्कासन भएको एनएमबी बैंकको एफपीओ सबै नबिकेर अण्डराइट गर्नेहरुले खरीद गर्नुपर्ने अवस्था आउनसक्ने संभावना बढेसँगै नेपाल बैंकको एफपीओ समेत बिक्री नहुने अड्कलबाजीहरु भइरहेका छन् । कतिपय भने नेपाल बैंकको एफपीओ खरीद गर्न लालायित समेत देखिएका छन् । 

नेपाल बैंक व्यवस्थापनले भने आगामी तीन आर्थिक वर्षको प्रक्षेपण सार्वजनिक गर्दै बैंकलाई अझ उचाईमा पुर्याउने घोषणा गरेको छ । 

बैंक व्यवस्थापनले आर्थिक वर्ष २०७४/७५, ०७५/७६ र ०७६/७७ मा क्रमशः खूद नाफा बढाउँदै लैजाने प्रक्षेपण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको अन्तसम्म बैंकको खूद नाफा ३ अर्ब १७ करोड हुने र ०७५/७६ मा ३ अर्ब ४७ करोड तथा ०७६/७७ मा ३ अर्ब ५५ करोड नाफा आर्जन हुने बैंकको प्रक्षेपण छ । 

बैंकले चालु आर्थिक वर्षको अन्तसम्म ३ अर्ब ९८ करोडको हाराहारीमा संचालन मुनाफा आर्जन गरेको दाबी गर्दै आर्थिक वर्ष ०७६/७७ मा यस्तो नाफा बढाएर ५ अर्ब माथि पुर्याउने समेत प्रक्षेपण गरेको छ । 

यसैगरी, बैंकले आगामी दिनमा व्यवसाय वृद्धि गरी आम्दानीलाई ह्वात्तै बढाउने लक्ष्य समेत लिएको छ । जसअनुसार चालु आबको अन्तसम्म ६ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी ०७६/७७ मा बढेर ८ अर्ब ३९ करोड पुग्ने प्रक्षेपण गरिएको छ । 

हालसम्म यो बैंकमाथि चलअचल सम्पत्ति बिक्री गरेर नाफा बढी देखाउने गरेको आरोप लाग्दै आएको छ । तर, बैंक व्यवस्थापनले केही दिनअघि पत्रकार सम्मेलन गरेर सम्पत्ति बिक्रीबाट हुने आय अहिले घटेको र व्यवसाय वृद्धिमै ध्यान दिएर बैंकलाई मजबुत बनाइएको दाबी गरेको छ । 

बैंकले चालु आर्थिक वर्षभित्र कर्जामा १० प्रतिशत र निक्षेपमा ५.७६ प्रतिशतको वृद्धिदर हासिल गर्ने, आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा कर्जातर्फ ११ प्रतिशत र निक्षेपतर्फ १० प्रतिशतको प्रगति गरेर प्रक्षेपित लक्ष्य हासिल गर्ने दाबी गरेको छ । बैंकले चालु आर्थिक वर्षको अन्तसम्म १.४४ प्रतिशतमा सीमित लगानी वृद्धिदरलाई ०७६/७७ मा बढाएर ३ प्रतिशत पुर्याउने समेत घोषणा गरेको छ । 

उसले गरेका वित्तीय प्रक्षेपण र आधारका तरिका टेबलमा हेर्नुहोस्:

नेपाल बैंकले चालु आर्थिक वर्षको अन्तसम्म प्रतिसेयर नेटवर्थ  १९९.५० रुपैयाँ पुर्याउने र त्यसपछिको प्रत्येक वर्षमा बढाउँदै जाने प्रक्षेपण समेत गरेको छ । जसअनुसार आर्थिक वर्ष ०७५/७६ मा प्रतिसेयर नेटवर्थ २३४.८७ रुपैयाँ तथा ०७६/७७ मा २७१.०९ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । बैंकले आर्थिक वर्ष ०७१/७२ देखि नै लगातार प्रतिसेयर नेटवर्थ बढाइरहेको छ । यो वर्ष ५९.२६ रुपैयाँ रहेको नेटवर्थ  ०७२/७३ मा १०३.८५ रुपैयाँ, ०७३/७४ मा १४२.३९ रुपैयाँ रहेको थियो । 

यस्तै, आर्थिक वर्ष ०७१/७२ मा २ अर्ब ६३ करोडले ऋणात्मक रहेको जगेडाकोष ०७२/७३ देखि भने धनात्मक भएको देखिन्छ । नेपाल बैंकको जगेडा कोष चालु आर्थिक वर्षको अन्तसम्म ९ अर्ब ७६ करोडको हुने, ०७५/७६ मा १३ अर्ब २३ करोड तथा ०७६/७७ मा १६ अर्ब ७८ करोडको हुने प्रक्षेपण गरिएको छ ।

बैंकले एफपीओको पैसा कहाँ लगाउँछ ?
बैंकले एफपीओबाट उठेको पूँजी समेत कहाँ खर्च गर्ने प्रष्ट पारेको छ । एफपीओ निश्कासनबाट प्राप्त हुने कुल ४ अर्ब ९५ करोडमध्ये ८५ प्रतिशत रकम कर्जा तथा सापट प्रयोग हुनेछ । यस्तै, १० प्रतिशत लगानी गरिने, शाखा बिस्तारमा ३ प्रतिशत खर्च गर्ने र बाँकी २ प्रतिशत अन्यमा खर्च गरिने बैंकले जनाएको छ । 

एफपीओ बिक्री नभए कस-कसले सकार्नेछन् ?
नेपाल बैंकको एफपीओ सबै बिक्री नभए पनि उसलाई कुनै घाटा हुने छैन । कारण, यो बैंकको एफपीओ ८ मर्चेन्ट बैंकले अण्डरराइट गर्ने सम्झौता गरेका छन् । जसअनुसार ग्लोबल आइएमई क्यापिटल लिमीटेड, एनआइबिएल एस क्यापिटल लिमीटेड, सिभिल क्यापिटल मार्केट लिमीटेड, सिविआइएल क्यापिटल लिमीटेड, सनराइज क्यापिटल लिमीटेड, लक्ष्मी क्यापिटल मार्केट लिमीटेड, सानिमा क्यापिटल मार्केट लिमीटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेडले नबिकेको सेयर उठाउनेछन् । कसले कतिको अण्डरराइट प्रतिबद्धता गरेका छन्, यो सूचि हेर्नुहोस्: