काठमाण्डौ । बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट लिमीटेडकै कर्मचारीको सूचना चुहावटका कारण केही लगानीकर्ताले १ सय रुपैयाँमै फुत्काएका भनिएको एभरेष्ट बैंकको सेयर पुनः लिलामीमा आउने भएको छ । 

यो बैंकले केही महिनाअघि हकप्रद निश्कासन गरेको थियो । त्यसमध्ये सेयरधनीले खरीद नगरेका २ लाख ५३ हजार ७ सय ९७ कित्ता सर्वसाधारण समूहतर्फको सेयर गत भदौ २५ देखि असोज १ गतेसम्म लिलामीमा राखिएको थियो । सो क्रममा समेत बिक्री नभएको ३५ हजार ८ सय ४१ कित्ता सेयरको लिलामी पुनः खुलाइएको हो । 

मंगलबार एक सूचना प्रकाशित गर्दै आगामी असोज २० बाट ३५८४१ कित्ता सेयरको लिलामी खुलाइएको बताइएको हो । लिलामीमा सहभागिताका लागि असोज २७ गतेसम्म गोप्य बोलपत्र पेश गर्नुपर्नेछ । परेका बोलपत्रहरु असोज २८ गते बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलको मुख्य कार्यालय परिसरमा खोलिने बताइएको छ । 

यसअघिको लिलामी प्रक्रियाको क्रममा प्रति कित्ता १ सय रुपैयाँ दर राख्नेहरुले समेत सेयर पाएका थिए । तर, यो बिषय निकै विवादित बनिरहेको छ । कतिपय विश्लेषक तथा जानकारहरुले एनआइबिएल क्यापिटल भित्रैबाट सूचना चुहावट भएका कारण उनीहरु निकटका कुनै लगानीकर्ताले १ सय रुपैयाँ मूल्य तोकेर बोलपत्र पेश गरी सेयर फुत्काएको बताउँदै आएका छन् । किनभने प्रतिकित्ता १२ सय माथि कारोबार भइरहेको सेयरको लिलामी प्रक्रियामा सहभागी हुने कुनै पनि लगानीकर्ता त्यति मूर्ख हुँदैन, जसले १ सय मात्र मूल्य राखेर बोलपत्र पेश गरी सेयर आफूलाई पर्छ भन्ने सोचेको होस् । यो बिषयमा छानबिन हुनुपर्ने कतिपय लगानीकर्ताले माग उठाए पनि नियामक धितोपत्र बोर्ड मौन रहँदै आएको छ । 

त्यसो त एनआइबिएल क्यापिटल मार्केटको माउ संस्था नेपाल इन्भेष्टमेन्ट बैंकप्रति पनि धितोपत्र बोर्डले सदाशयता देखाउने गरेको छ । टाइप मिस्टेक प्रकरणमा बोर्डले सो बैंकप्रति देखाएको नरमपनले समेत यही पुष्टि गर्छ । नेप्सेलाई स्पष्टीकरण सोधेर तथा विवादास्पद दिनको कारोबार स्थगित गरिए पनि हालसम्म इन्भेष्टमेन्ट बैंकमाथि कुनै कारबाही गरिएको छैन ।