काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

यो बैंकको कात्तिक ३० गते बसेको संचालक समितिको २८७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट ३३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो बैंकले लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर र ३३.३३ प्रतिशत हकप्रद वितरण गरेको थियो । 

एभरेष्ट बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । 

हाल यसको चुक्तापूँजी ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ । ३३ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ८ अर्ब १३ करोडको उचाईमा पुुग्नेछ ।

राष्ट्रबैंकले तोकेको चुक्तापूँजी बोनस सेयर वितरण गरी पुर्याउन कस्सिएपछि एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जरको हल्ला हल्लामै सीमित बन्नसक्ने संभावना देखिएको छ । यी दुुई बैंकबीच मर्जरको प्रयास गरिएको भए पनि डिडिए र सेयर स्वाप रेसियोको बिषयमा कुरा नमिलेको प्रसंग बाहिरिएको थियो । धेरैले यी २ बैंकबीच मर्जरको अपेक्षा अझै गरिरहेका भए पनि एभरेष्ट बैंक आफैंले तोकेको पूँजी पुर्याउने प्रयासले मर्जर टरेको हो कि भन्ने संशय पैदा भएको छ ।